काठमाडौं।
सरकारले नेपाल लेखामान बोर्डको अध्यक्षमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट रमेशकुमार धिताललाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्टस् ऐन, २०५३ बमोजिम धिताललाई बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो।
सिन्धुपाल्चोकको चौतारा नगरपालिका निवासी धिताललाई लेखा व्यवसाय, वित्तीय प्रतिवेदन प्रणाली तथा लेखामानको प्रभावकारी कार्यान्वयनमा रहेको लामो अनुभवका आधारमा उक्त जिम्मेवारी दिइएको जनाइएको छ।
अर्थ मन्त्रालयका अनुसार धितालसँग लेखापरीक्षण, वित्तीय परामर्श, जोखिम व्यवस्थापन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान (एनएफआरएस/आईएफआरएस) कार्यान्वयनको क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ। नेपालमा बैंक तथा वित्तीय संस्थामा एनएफआरएस र ईसीएल कार्यान्वयनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्।
धितालले आफ्नो व्यावसायिक यात्रा विश्वप्रसिद्ध परामर्शदाता कम्पनी अर्न्स्ट एन्ड यङ (Ernst & Young), मुम्बईबाट सुरु गरेका थिए। उनले नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, नेपाल बीमा प्राधिकरणलगायत विभिन्न सरकारी, बैंकिङ तथा निजी क्षेत्रका संस्थाहरूमा लेखापरीक्षण तथा परामर्श सेवा प्रदान गरिसकेका छन्। साथै एसियाली विकास बैंकका विभिन्न परियोजनामा समेत उनले जिम्मेवारी सम्हालिसकेका छन्।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संघमा उपाध्यक्ष तथा महासचिवको भूमिका निर्वाह गरिसकेका धिताल हाल नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाको परीक्षा समिति सदस्यका रूपमा कार्यरत छन्। उनले संस्थाका विभिन्न समितिमा रहेर योगदान दिनुका साथै अध्ययन सामग्री निर्माण, प्रशिक्षण तथा प्राविधिक परामर्शमा समेत सक्रिय भूमिका खेलेका छन्।
धितालले नेपाल र भारत दुवै देशबाट चार्टर्ड एकाउन्टेन्सी (सीए) उत्तीर्ण गरेका छन्। साथै उनीसँग एमबीए, सिसा (CISA) तथा डिपआईएफआर (DipIFR) लगायतका अन्तर्राष्ट्रिय व्यावसायिक योग्यता समेत रहेका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालका अनुसार धितालको प्राविधिक दक्षता, नेतृत्व क्षमता र वित्तीय क्षेत्रको अनुभवलाई मूल्याङ्कन गर्दै उनलाई नेपाल लेखामान बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो। मन्त्रालयले उनको नेतृत्वमा नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस) को प्रभावकारी कार्यान्वयन तथा वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय अभ्याससँग थप समन्वय गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।











प्रतिक्रिया