‘क्याप्टेन अमेरिका’ क्रिस्टियन पुलिसिक


घरेलु मैदानमा फिफा विश्वकप २०२६ को औपचारिक सुरुवात भइरहँदा अमेरिकाका सबैभन्दा ठूला फुटबल स्टार तथा ‘क्याप्टेन अमेरिका’ का रूपमा परिचित क्रिस्टियन पुलिसिक यसपटक अत्यधिक दबाब, ब्यग्रता र ठूलो सपनासहित मैदान उत्रिँदैछन् ।

२७ वर्षीय एसी मिलानका यी विंगरका लागि पाराग्वेविरुद्ध लस एन्जलसमा हुने पहिलो खेल खेलजीवनकै ऐतिहासिक मोड साबित हुन सक्छ । सन् २०२२ को कतार विश्वकपमा टोलीलाई नकआउट चरणमा पु¥याउन निर्णायक गोल गर्दा चोटग्रस्त बनेका पुलिसिकमा यसपटक घरेलु दर्शकका सामु अमेरिकी फुटबललाई नयाँ उचाइमा पु¥याउने तीव्र छटपटी छ ।

क्लब फुटबलमा मिलानका लागि सानदार सिजन बिताए पनि च्याम्पियन्स लिगमा छनोट हुन नसकेको निराशालाई बिर्साउँदै उनी देशका लागि इतिहास रच्न चाहन्छन् । नयाँ प्रशिक्षक माउरिसियो पोचेटिनोको रणनीतिक कमान्ड र घरेलु मैदानको बलियो साथ पाएका पुलिसिकसामु अमेरिकालाई विश्वकपको बलियो दावेदारका रूपमा स्थापित गर्ने र आफ्नो देशमा फुटबल खेलको लोकप्रियतालाई सधैँका लागि बदल्ने दोब्बर जिम्मेवारी छ, जसका कारण उनी यो महाकुम्भलाई निकै उत्सुकताका साथ नियालिरहेका छन् ।