फिफा विश्वकप २०२६ को समूह ‘डी’ को बहुप्रतीक्षित र रोमाञ्चक उद्घघाटन खेलमा सह–आयोजक संयुक्त राज्य अमेरिकाले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेको सामना गर्दैछ । लस एन्जलस स्टेडियम (सोफाइ स्टेडियम) मा नेपाली समय अनुसार शनिबार बिहान ६ः४५ बजे सुरु हुने यो खेल अमेरिकी फुटबल इतिहासको एक सुनौलो र गर्विलो क्षण बन्ने निश्चित छ ।
सन् १९९४ को विश्वकपपछि अमेरिकी भूमिमा पहिलो पटक पुरुष विश्वकपको खेल हुन लागेकाले घरेलु दर्शकहरूमा उत्साहको सीमा छैन । नयाँ रणनीतिकार माउरिसियो पोचेटिनोको प्रशिक्षणमा रहेको अमेरिकी टोली युवा जोश, गति र उत्कृष्ट प्रतिभाले सुसज्जित छ । घरेलु मैदानको ठुलो फाइदा उठाउँदै अमेरिका यो विश्वकपमा सानदार सुरुवात गर्न चाहन्छ । मिडफिल्डर जिओ रेयना र स्टार स्ट्राइकरफोलारिन बालोगुन जस्ता युरोपेली लिगका अनुभवी खेलाडीहरूको उपस्थितिमा अमेरिकी टोली ४–४–२ को आक्रामक रणनीतिका साथ मैदानमा उत्रिनेछ, जसले पराग्वेको रक्षापङ्क्तिलाई कडा चुनौती दिने निश्चित छ ।
अर्कोतर्फ, सन् २०१० पछि पहिलो पटक विश्वकपमा पुनरागमन गरेको पराग्वे (ला अल्बिरोजा) आफ्नो बलियो रक्षापङ्क्ति र जुझारु शैलीका लागि परिचित छ । प्रशिक्षक गुस्ताभो अल्फारोको नेतृत्वमा रहेको यो टोली दक्षिण अमेरिकी छनोटको कडा प्रतिस्पर्धा पार गर्दै ४१ औँ वरीयताका साथ विश्वकपमा आएको हो ।
पराग्वेको टोलीमा न्यूकासलका विंगर मिगुएल आल्मिरोन र युवा प्रतिभा जुलियो एन्सिसो जस्ता खतरनाक खेलाडीहरू छन्, जसले काउन्टर–अट्याकमा अमेरिकी टोलीलाई स्तब्ध पार्न सक्छन् । टोलीका कप्तान गुस्ताभो गोमेजको नेतृत्वमा रहने पराग्वेको रक्षापङ्क्ति निकै अनुशासित छ, तर अमेरिकी विंगरहरूको तीव्र गतिलाई रोक्न उनीहरूलाई निकै संघर्ष गर्नुपर्ने देखिन्छ । पाराग्वेले हालैका खेलहरूमा मिश्रित प्रदर्शन गरे पनि ठुला प्रतियोगितामा उनीहरूको उत्कृष्ट पुनरागमन गर्ने क्षमता अद्भुत रहेको छ ।
विगतमा यी दुई टोलीबीचको भिडन्त सधैँ प्रतिस्पर्धात्मक हुने गरेको छ । पछिल्लो पटक सन् २०२५ को नोभेम्बरमा भएको मैत्रीपूर्ण खेलमा अमेरिकाले पराग्वेलाई २–१ ले पराजित गरेको थियो । जसले गर्दा अमेरिकी खेलाडीहरूको मनोबल उच्च छ ।
खेलको सुरुवाती क्षणदेखि नै अमेरिकाले बल नियन्त्रणमा राख्दै पराग्वेमाथि दवाब बढाउने रणनीति बुन्नेछ भने पाराग्वेले रक्षात्मक खेल खेल्दै सेट–पिस र काउन्टरमा आक्रमण गर्ने दाउ हेर्नेछ । लस एन्जलसको खचाखच भरिएको र गुञ्जायमान घरेलु रंगशालाको माहोल, खेलाडीहरूको उच्च लय र हालैको अपराजित तथ्यांकका कारण यो खेलमा अमेरिकाको पल्ला भारी देखिन्छ । जोनाथन डेभिड र बालोगुनको आक्रमणले पराग्वेको बलियो पर्खाललाई तोड्दै अमेरिकाले आफ्नो विश्वकप अभियानको सुरुवात सुखद जितका साथ गर्ने सम्भावना बलियो छ ।











प्रतिक्रिया