कुमारी बैंकले ल्यायो नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म


काठमाडौं ।

कुमारी बैंक लिमिटेडले नेपालमा डिजिटल बैंकिङलाई थप प्रवर्द्धन गर्ने उद्देश्यले नेपालको पहिलो एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म (Real-time ERP Integrated Digital Lending Platform) सार्वजनिक गरेको छ।

बैंकले IMS Software Pvt. Ltd. सँगको सहकार्यमा सञ्चालनमा ल्याएको उक्त प्ल्याटफर्ममार्फत व्यवसायी ग्राहकहरूले ERP सफ्टवेयरमा आधारित भएर बिनाधितो कर्जा प्राप्त गर्न सक्नेछन्। यसले कर्जा लिनका लागि आवश्यक कागजी प्रक्रिया र शाखा धाउनुपर्ने झन्झटलाई हटाउने बैंकको दाबी छ।

नयाँ प्रणालीमार्फत कर्जा आवेदनदेखि स्वीकृति, वितरण तथा भुक्तानीसम्मका सम्पूर्ण प्रक्रिया डिजिटल माध्यमबाट सम्पन्न गर्न सकिनेछ। ERP प्रणालीसँगको प्रत्यक्ष एकीकरणले व्यवसायको बिक्री, कारोबार तथा मौज्दातलगायतका वास्तविक समयका तथ्यांकका आधारमा कर्जा योग्यता मूल्याङ्कन गर्न सहयोग गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यस प्रणालीमार्फत ERP प्रयोग गर्ने व्यवसायहरूले आफ्नै कारोबार र कार्यसम्पादनका आधारमा ५ लाख रुपैयाँसम्मको चालु पूँजी कर्जा प्राप्त गर्न सक्नेछन्। उक्त कर्जा १२ महिनासम्म समान मासिक किस्तामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

कुमारी बैंकले सेवाको प्रयोग, बजारको माग तथा नेपाल राष्ट्र बैंकको नीतिगत निर्देशनअनुसार आगामी दिनमा कर्जा सीमा थप विस्तार गर्ने योजना रहेको जनाएको छ।

बैंकका अनुसार यो पहल नेपाल राष्ट्र बैंकको डिजिटल कर्जा सेवा विस्तार तथा वित्तीय पहुँच अभिवृद्धि गर्ने नीतिसँग मेल खाने खालको छ। विशेषगरी साना तथा मझौला उद्यम (SMEs) लाई लक्षित गरी ल्याइएको यस सेवाले वित्तीय समावेशीकरणलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

नेपालमा रहेका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमलाई लक्षित गर्दै सुरु गरिएको यस प्ल्याटफर्मले उद्यमशीलता प्रवर्द्धन, व्यवसाय विस्तार तथा आर्थिक गतिविधि बढाउन योगदान पुर्‍याउने विश्वास बैंकले व्यक्त गरेको छ।

हाल कुमारी बैंकले देशभर २८६ शाखा र ४१ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले डिजिटल वित्तीय रूपान्तरणलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि ग्राहकलाई सरल, सुलभ र प्रविधिमैत्री सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।