काठमाडौँ।
एभरेष्ट बैंक लिमिटेडले नेपाल–भारत अन्तरदेशीय फन्ड ट्रान्सफर (P2P) सम्झौतासँगै आफ्नो मोबाइल बैंकिङ एप “एभरेष्ट बैंक टच २४” मार्फत रियल–टाइम क्रस–बोर्डर रेमिट्यान्स सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ।
नयाँ डिजिटल सेवामार्फत अब नेपाल र भारतका नागरिकहरूले अत्यन्तै छिटो, सरल र सुरक्षित रूपमा तत्काल रकम आदानप्रदान गर्न सक्ने बैंकले जनाएको छ।
व्यवस्थाअनुसार, नेपालमा कार्यरत भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु १५,००० र मासिक अधिकतम भारु १,००,००० सम्म भारत पठाउन सक्नेछन्। त्यस्तै, भारतमा कार्यरत नेपाली तथा भारतीय नागरिकहरूले दैनिक अधिकतम भारु २,००,००० सम्म नेपालमा रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।
यस प्रणालीअन्तर्गत रकम स्थानान्तरणका लागि प्राप्तकर्ताको मोबाइल नम्बर वा भर्चुअल पेमेन्ट एड्रेस (VPA) प्रयोग गर्न सकिनेछ। भारततर्फका प्रयोगकर्ताहरूले युनिफाइड पेमेन्ट्स इन्टरफेस (UPI) आईडीमार्फत सीधै रकम प्राप्त गर्न सक्नेछन्।
बैंकका अनुसार यो सेवा नेपाल–भारतबीचको डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित र प्रभावकारी बनाउने महत्वपूर्ण कदम हो।
थप जानकारीका लागि ग्राहकहरूले एभरेष्ट बैंकको आधिकारिक वेबसाइट वा नजिकको शाखामा सम्पर्क गर्न सक्नेछन्।











प्रतिक्रिया