३७ जना सैनिकलाई प्रधानसेनापति प्रशंसा निशान प्रदान


काठमाडौं ।

उच्च पेशागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गरेका नेपाली सेनाका ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले प्रशंसा निशान तथा कदरपत्र प्रदान गरेका छन्।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा प्रधानसेनापति सिग्देलले उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिकहरूलाई उक्त सम्मान प्रदान गरेका हुन्।

विज्ञप्तिमा संवेदनशील तथा चुनौतीपूर्ण परिस्थितिमा सैनिक मूल्य–मान्यता आत्मसात गर्दै प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गरेका राष्ट्रसेवक सैनिकहरूको योगदानको कदरस्वरूप प्रशंसा निशान र कदरपत्र प्रदान गरिएको उल्लेख छ।

सम्मान कार्यक्रम नेपाली सेनाका रथीवृन्द, अधिकृत, पदिक तथा अन्य सैनिक कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको जनाइएको छ। नेपाली सेनाले यस्ता सम्मानले सैनिकहरूमा व्यावसायिकता, अनुशासन र उत्कृष्ट कार्यसम्पादनप्रति थप प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ।