ग्वादालाहारामा दक्षिण कोरिया र चेकियाबीचको रोमाञ्चक भिडन्त

दक्षिण कोरिया विरुद्ध चेकिया (खेल : शुक्रवार बिहान : ७ः४५ बजे)


विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को आफ्नो पहिलो खेलमा दक्षिण कोरिया र चेकिया (चेक गणतन्त्र) बिहीबार ग्वादालाहारामा आमनेसामने हुँदैछन् । जहाँ दुवै टोली सुरुवाती अंक जोडेर सुखद सुरुवात गर्ने धुनमा हुनेछन् । आयोजक मेक्सिको र दक्षिण अफ्रिका समेत रहेको यस कठिन समूहबाट नकआउट चरणमा पुग्न शीर्ष दुईमा पर्नु अनिवार्य छ । एसियाली राष्ट्रहरूमध्ये सबैभन्दा धेरै १२ औं पटक विश्वकप खेल्न लागेको दक्षिण कोरियाको यो लगातार ११ औं उपस्थिति हो ।

सन् १९८६ को डेब्युयता ३८ खेलमा मात्र ७ जित निकालेको दक्षिण कोरियाको कप्तानी गरिसकेका प्रशिक्षक होंग म्युंग–बोले यसपटक टोलीको नेतृत्व सम्हाल्दै छन् । एएफसी छनोटमा ११ जित र ५ बराबरीसहित ४० गोल गर्दै अपराजित रहेको कोरियाली टोलीले भर्खरैका मैत्रीपूर्ण खेलहरूमा ट्रिनिडाड एन्ड टोबागोलाई ५–० र एल साल्भाडोरलाई १–० ले हराएर आफ्नो लय बलियो बनाएको छ । कप्तान सन ह्युंग–मिन चा बुम–कुनको ऐतिहासिक गोलको कीर्तिमान बराबरी गर्न मात्र दुई गोल टाढा छन् । जसलाई ह्वांग ही–चान र ली कांग–इन जस्ता खेलाडीले साथ दिनेछन् भने रक्षापंक्ति किम मिन–जेले सम्हाल्नेछन् ।

अर्कोतर्फ, युरोपेली प्ले–अफ पार गर्दै २० वर्षपछि पहिलोपटक विश्वकपमा फर्किएको चेकिया ७४ वर्षीय अनुभवी प्रशिक्षक मिरोस्लाभ कोउबेकको नेतृत्वमा उच्च मनोबलका साथ मैदान उत्रिँदै छ । विगतमा उपविजेता बनेको इतिहास बोकेको चेकियाले हालै लगातार ६ खेल जित्दै उत्कृष्ट लय देखाएको छ । जसमा कोसोभो र ग्वाटेमाला विरुद्धका जितहरू सामेल छन् । सेट पिसमा निकै खतरनाक मानिने यो अग्लो कदको टोलीले छनोटका आधा गोलहरू कर्नर र फ्रि–किक मार्फत गरेको थियो । जुन समुद्री सतहबाट २ हजार मिटरको उचाइमा हुने यस खेलमा कोरियाका लागि चुनौतीपूर्ण बन्न सक्छ ।

टोलीका प्रमुख स्ट्राइकर प्याट्रिक सिक र मिडफिल्डर पाभेल सुल्क कोरियाली डिफेन्सका लागि टाउको दुखाइ बन्न सक्छन् । दुवै टोलीका लागि विश्वकपको ओपनिङ खेलमा हारबाट जोगिनु मुख्य प्राथमिकता हुने भएकाले, फरक शैलीका यी दुई टोलीबीचको भिडन्त निकै रणनीतिक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । खेल १–१ को बराबरी हुनसक्ने अनुमान गरिए पनि दुवै टोली महत्वपूर्ण अंक बटुल्दै अन्तिम ३२ को यात्रा तय गर्न कम्मर कसेर लाग्नेछन् ।


फिफा विश्वकप २०२६ ः केही रोचक तथ्यहरू
– ऐतिहासिक संयुक्त आयोजना ः इतिहासमै पहिलोपटक तीन राष्ट्रहरू क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाका १६ सहरहरूमा विश्वकप आयोजना हुँदैछ ।
– टोलीहरूको संख्यामा वृद्धि ः यसपटक साविकको ३२ टोलीको सट्टा इतिहासकै धेरै ४८ टोलीले विश्वकपमा सहभागिता जनाउँदै छन् ।
– खेल संख्या र अवधि ः खेल संख्या ६४ बाट बढाएर १०४ पु¥याइएको छ । जसका कारण यो प्रतियोगिता इतिहासकै सबैभन्दा लामो (३९ दिनसम्म चल्ने) विश्वकप बन्नेछ । प्रतियोगिता जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ ।
– दर्शकको नयाँ कीर्तिमानको अपेक्षा ः सन् १९९४ मा अमेरिकाले नै आयोजना गर्दा कायम भएको ३५ लाख कुल दर्शकको कीर्तिमान यस वर्ष तोडिने फिफाको बलियो दाबी छ ।
– पुरस्कार राशि ः प्रतियोगिताको कुल पुरस्कार राशि ६५ करोड ५० लाख डलर रहेको छ । जसमा विजेताले ५ करोड डलर र उपविजेताले ३ करोड ३० लाख डलर प्राप्त गर्नेछन् ।
– सुपर बाउल शैलीको मनोरञ्जन ः यसपटकको फाइनल खेलको हाफ–टाइम (मध्यान्तर) मा अमेरिकी ‘सुपर बाउल’ जस्तै भव्य सांगीतिक प्रस्तुतिहरू समावेश गरी मनोरञ्जनलाई विशेष प्राथमिकता दिइनेछ ।