फिफा विश्वकप २०२६ को उद्घघाटन खेलमै एउटा यस्तो रोमाञ्चक र ऐतिहासिक संयोग जुरेको छ, जसले विश्वभरका फुटबल प्रेमीहरूको मुटुको धड्कन बढाउने निश्चित छ । आयोजक मेक्सिकोले समूह ‘ए’ को आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकाको सामना गर्दैछ । यो भिडन्त केवल एउटा खेल मात्र नभएर इतिहासको त्यो सुनौलो पाना हो जुन १६ वर्षपछि पुनः पल्टिँदैछ ।
सन् २०१० को विश्वकप उद्घाटन खेलमा यी दुई टोली भिड्दा खेल १–१ गोलको सनसनीपूर्ण बराबरीमा सकिएको थियो । त्यतिबेला दक्षिण अफ्रिका आयोजक थियो भने अहिले मेक्सिको आफ्नै घरेलु मैदानमा खेल्दैछ । रोचक कुरा के छ भने, २०१० को खेलमा मेक्सिकोका लागि बराबरी गोल फर्काउने महान खेलाडी राफेल मार्केज आज मेक्सिकन टोलीको सहायक प्रशिक्षकका रूपमा डगआउटमा हुनेछन् ।
८७ हजारभन्दा बढी जोशिला घरेलु दर्शकहरूले भरिने ऐतिहासिक एस्टेडियो एज्टेका रंगशालाले दक्षिण अफ्रिका –बाफाना बाफाना) का लागि एउटा चुनौतीपूर्ण माहौल सिर्जना गर्नेछ । जहाँ मेक्सिको इतिहास सच्याउने दाउमा हुनेछ । वर्तमान फर्म र शक्तिको कुरा गर्दा मेक्सिको यो खेलमा जितको स्पष्ट दाबेदार हो । सन् २०२५ मा कोन्काकाफ गोल्ड कप र नेसन्स लिग जितेर उच्च मनोबलमा रहेको मेक्सिकोले यस वर्ष खेलेका ८ मैत्रीपूर्ण खेलमध्ये ६ खेलमा विपक्षीलाई कुनै गोल गर्न दिएको छैन ।
पोर्चुगल र बेल्जियम जस्ता टोलीलाई बराबरीमा रोक्ने र भर्खरै सर्बियालाई ५–१ ले ध्वस्त पारेको मेक्सिकोको डिफेन्स र कन्फिडेन्स दुवै निकै बलियो छ । मेक्सिकोसँग साउदी प्रो लिगमा ३१ खेलमा ३३ गोलका साथ गोल्डेन बुट जितेका जुलियन क्विनोनेस र फुलह्यामका स्टार राउल जिमेनेज जस्ता घातक फरवार्डहरू छन्, जसलाई युवा मिडफिल्डर ब्रायन गुटिएरेज र एरिक लिराले बलियो साथ दिनेछन् । अर्कोतर्फ, २०१० पछि पहिलो पटक विश्वकप खेल्न लागेको दक्षिण अफ्रिका हालैका खेलहरूमा अलि संघर्ष गरिरहेको देखिन्छ ।
जमैका र निकारागुआ विरुद्ध सोचे जस्तो प्रदर्शन गर्न नसकेको र अफ्रिका कप अफ नेसन्सको अन्तिम १६ बाटै बाहिरिएको यो टोली रणनीतिक रूपमा अनुशासित त छ, तर मेक्सिकोको गगनचुम्बी उचाइ र घरेलु दबाब झेल्न उसलाई निकै कठिन हुनेछ। दक्षिण अफ्रिकाका लागि बर्नलीका स्ट्राइकर लाइल फोस्टर र ओर्लान्डो पाइरेट्सका विङ्गर ओस्विन एम्पोलिसको गति नै मुख्य हतियार हुनेछ ।
रणनीतिक रूपमा यो खेल एउटा महासंग्राम जस्तै हुनेछ जहाँ मेक्सिकोले खेलको सुरुदेखि नै उच्च बल नियन्त्रण राखेर विङ्ग–ब्याकहरूलाई अगाडि बढाउनेछ र रंगशालाको उचाइको फाइदा उठाउँदै सेट–पिसहरू मार्फत गोल निकाल्ने प्रयास गर्नेछ । जवाफमा, दक्षिण अफ्रिकाले रक्षात्मक ‘लो ब्लक’ शैली अपनाएर काउन्टर अट्याकमा लाइल फोस्टरको गति प्रयोग गर्ने रणनीति बुन्नेछ ।
कडा मानिएका ब्राजिलियन रेफ्री विल्टन साम्पाइओको उपस्थितिमा यो खेल शारीरिक रूपमा निकै आक्रामक हुने पक्का छ । समग्रमा, मेक्सिकोले खेलमा पूर्ण नियन्त्रण जमाउँदै २–० को सहज जित निकाल्ने अनुमान गर्न सकिन्छ ।











प्रतिक्रिया