काठमाडौं ।
एसियन गेम्सअन्तर्गत पुरुष क्रिकेट टी २० आई क्वालिफायरमा नेपालले उपाधि जितेको छ । सोमबार सिंगापुरमा भएको फाइनल खेलमा नेपालले हङकङको शसक्त चुनौतीलाई पन्छाएर उपाधि जितेको हो । पहिले ब्याटिङ गरेको हङकङले १ सय ८९ रनको ठूलो लक्ष्य निर्धारित गरेको थियो । जसलाई नेपालले पछ्याउने क्रममा ११.३ ओभरमा २ विकेटको क्षतिमा १ सय १४ रन हुँदा वर्षा भएको थियो ।
तर, वर्षा नरोकिएपछि खेल पुनः सुचारु हुन सकेन र नेपालले १९ रनले जितेको घोषणा गरियो । नेपाल डीएल पद्धतिअनुसार ११.३ ओभरमा ९६ रनको नयाँ लक्ष्य थियो । जुन नेपालले पहिले नै पार गरिसकेको थियो ।
कुशलले बनाए सर्वाधिक रन
नेपालको लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ६५ रन बनाए । उनले यस एसियन गेम्स क्वालिफायरमा नेपालका लागि सर्वाधिक रन पनि बनाएका छन् । ४ खेल खेलेका उनले २ शतक र एक अर्धशतकसहित ३ सय ४० रन बटुलेका हुन् । यसपछि कप्तान रोहित पौडेलले १ सय २५ रन बनाए भने अन्य कोही पनि नेपाली खेलाडीले १ सय रन कटाउन सकेनन् ।
एसियन गेम्समा नेपालको क्वार्टरफाइनलसम्म यात्रा
नेपाली पुरुष क्रिकेट टोलीको लागि जापानमा हुने आगामी एसियन गेम्स चौथोपटकको सहभागिता हुनेछ । यसअघिका तीनै सहभागितामा नेपालले क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो र तीनै पटक टेस्ट खेल्ने राष्ट्रसँग हारेर बाहिरिनु परेको थियो ।
चीनमा सम्पन्न २०१० को एसियन गेम्समा नेपाल क्वार्टरफाइनलमा श्रीलंकासँग २ विकेटले हारेको थियो । नेपालले ७२ रन मात्रै बनाएपनि श्रीलंकाले जित्न निकै कसरत गर्नु परेको थियो । नेपाली बलरहरूले ५६ को स्कोरसम्ममा श्रीलंकाका आठ विकेट लिएर ऐतिहासिक जित हासिल गराउन तयारी गरिसकेका थिए । तर, अन्तिम दुई विकेटलाई नियन्त्रण गर्न नसक्दा नेपाल ऐतिहासिक जितबाट वंचित हुनु परेको थियो ।
यस्तै, २०१४ को दक्षिण कोरियामा भएको एसियन गेम्समा पनि नेपाल क्वार्टरफाइनलमै पराजित भयो । यसपटक नेपाली टोली अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो । यस खेलमा अफगानिस्तानले बनाएको १ सय १९ रनको जवाफमा नेपालले १ सय ११ रन बनाएको थियो ।
यसैगरी पछिल्लोपटक चीनमा २०२२ मा भएको एसियन गेम्समा नेपालको क्वार्टरफाइनलमा सामना क्रिकेटकै शसक्त टोली भारतसँग भएको थियो । भारतले नेपाललाई २३ रनले हराएको थियो ।
यस खेलमा यशस्वी जैसवालले १ सय रन बनाएपछि भारतले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको थियो । यसको जवाफमा नेपाल १ सय ७९ रनमा रोकिएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले बनाएको ३२ रन नै सर्वाधिक योगदान बनेको थियो ।
एसियन गेम्समा १० टोलीहरू सामेल
जापानमा यही सेप्टेम्बरमा हुने एसियन गेम्सको पुरुष क्रिकेटतर्फ १० टोलीहरूले प्रतिस्पर्धा गर्नेछन् । जसमा नेपालसहित अन्य ९ टोलीहरू हुन् ।
भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश, अफगानिस्तान टेस्ट खेल्ने राष्ट्रहरू स्वतः छनोट भएका हुन् । अन्य ५ टोलीमा जापान आयोजकको रूपमा स्वतः छनोट भयो भने नेपाल, हङकङ, मलेसिया, ओमान क्वालिफायर खेलेर छनोट भएका हुन् ।
एसियन गेम्स पुरुष क्रिकेटमा पदक जित्ने राष्ट्रहरू
एसियन गेम्स स्वर्ण रजत कांस्य
२०१० चीन बंगलादेश अफगानिस्तान पाकिस्तान
२०१४ दक्षिण कोरिया श्रीलंका अफगानिस्तान बंगलादेश
२०२२ चीन भारत अफगानिस्तान बंगलादेश











प्रतिक्रिया