हेटौंडा ।
प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा प्रतिपक्षी दलहरुको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको भन्ने आशय व्यक्त गरेको विषयलाई लिएर मकवानपुरका चार प्रतिपक्षी राजनीतिक दलहरुले गम्भीर चासो र आपत्ति जनाएका छन् ।
उक्त विषयमा छलफल गर्न हेटौंडास्थित नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाल कम्युनिष्ट पार्टी तथा श्रम संस्कृति पार्टीका प्रतिनिधिबीच विशेष बैठक भएको हो । बैठकले प्रधानमन्त्रीले संसदको रोष्ट्रमबाट व्यक्त गरेको अभिव्यक्तिप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ । सहभागी दलहरुले यदि नेपालले भारतको सीमा मिचेको भन्ने दाबी सत्य हो भने त्यसलाई तथ्य र प्रमाणसहित सार्वजनिक गर्नुपर्ने धारणा राखेका छन् ।
बैठकले यस विषयमा साझा धारणा तयार गरी छिट्टै संयुक्तरुपमा सार्वजनिक गर्ने निर्णय गरेको जनाएको छ । मकवानपुरका प्रतिपक्षी दलहरुले राष्ट्रिय हित, सार्वभौमसत्ता तथा सीमासम्बन्धी विषयमा सरकार थप जिम्मेवार र तथ्यमा आधारित हुनुपर्ने आवश्यकता औंल्याएका छन् ।
बैठकमा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, नेकपा (एमाले) मकवानपुरका कार्यबाहक अध्यक्ष हिदम लामा, नेपाल कम्युनिष्ट पार्टीका जिल्ला संयोजक ध्रुव भुजेल तथा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इञ्चार्ज सुन्दर लामाको सहभागिता थियो ।
बैठकमा सहभागी नेताहरुले विशिष्ट र जिम्मेवार पदमा रहेका व्यक्तिले राष्ट्रिय सार्वभौमसत्ता, सीमा तथा अन्तर्राष्ट्रिय सम्बन्धजस्ता संवेदनशील विषयमा बोल्दा पर्याप्त आधार र प्रमाणसाथ अभिव्यक्ति दिनुपर्नेमा जोड दिएका थिए । बिनाप्रमाण यस्ता विषय उठाउँदा राष्ट्रिय हित र नेपालको अन्तर्राष्ट्रिय छविमा नकारात्मक प्रभाव पर्न सक्ने उनीहरुको भनाइ थियो ।
श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज लामाका अनुसार प्रधानमन्त्रीको अभिव्यक्तिले उत्पन्न गरेको विषयवस्तुमा चार राजनीतिक दलबीच गम्भीर छलफल भएको छ ।











प्रतिक्रिया