युनिलिभर नेपाल र राडो नेपालद्वारा हेटौँडामा वातावरणीय तथा सामाजिक सबलता प्रवद्र्धन अभियान सुरु


काठमाडौँ
युनिलिभर नेपालले योजना कार्यान्वयन साझेदार संस्था राडो नेपाल सँगको सहकार्यमा हेटौँडा–३, बसामाडीस्थित सिमलथली समुदायमा “सरोकारवालाको सहभागितामार्फत वातावरणीय तथा सामाजिक सबलता निर्माण” नामक समुदायमुखी सामाजिक उत्तरदायित्व पहलको औपचारिक शुभारम्भ गरेको छ । यस परियोजनाको मुख्य उद्देश्य स्थानीय समुदायको सक्रिय सहभागितामार्फत नेपालमा जल संरक्षणसम्बन्धी गतिविधिहरूलाई सुदृढ बनाउनु रहेको छ ।

कार्यक्रमको उद्घाटनका अवसरमा जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले युनिलिभर नेपालका नेतृत्व टोलीसहित स्थानीय महिलाहरूलाई बिरुवा तथा रुखका बेर्ना हस्तान्तरण गर्नुभयो। उक्त प्रतीकात्मक हस्तान्तरणले स्थानीय वातावरण संरक्षण तथा संवद्र्धनप्रति सबै सरोकारवालाको साझा प्रतिबद्धतालाई झल्काएको थियो ।

उद्घाटन कार्यक्रममा युनिलिभर नेपाल, राडो नेपाल, स्थानीय सरकारी निकाय, नागरिक समाजका संस्था तथा स्थानीय लाभग्राही गरी करिब ८५ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जल संरक्षण, जलवायु परिवर्तनसँग जुध्ने क्षमता अभिवृद्धि तथा स्थानीय पारिस्थितिक प्रणाली संरक्षणका लागि सामूहिक प्रयासको आवश्यकता माथि विशेष जोड दिइएको थियो ।

युनिलिभर नेपालका प्रबन्ध निर्देशक श्री अम्लान मुखर्जीले यस पहलको प्रशंसा गर्दै व्यवसायिक वृद्धि र समुदायको सबलता सँगसँगै अगाडि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपालका लागि हितकर हुने कार्य युनिलिभरका लागि पनि हितकर हुने बताउँदै वातावरणीय तथा सामाजिक प्रगतिमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

त्यसैगरी, राडो नेपालका अध्यक्ष डा. कृष्ण धितालले जलवायु जोखिम सामना गर्न समुदायको नेतृत्वमा आधारित पहल आवश्यक रहेको बताउनुभयो । उहाँले समुदाय, संस्था तथा जिम्मेवार साझेदारहरूको सक्रिय सहभागिताबाट मात्रै वातावरणीय सबलता निर्माण सम्भव हुने धारणा राख्नुभयो ।

युनिलिभर नेपालका कानुनी प्रमुख तथा कम्पनी सचिव श्री गोविन्द शाहीले दिगो विकास जवाफदेहिता, अनुपालना र साझा जिम्मेवारीमा आधारित हुँदा अझ प्रभावकारी हुने बताउनुभयो । उहाँले यस सहकार्यले सामाजिक उत्तरदायित्वमा मात्र सीमित नभई दीर्घकालीन सामुदायिक स्वामित्व र वातावरणीय संरक्षणलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम युनिलिभर नेपालका कारखाना प्रमुख श्री सञ्जय भट्टाचार्यको धन्यवाद मन्तव्यसँग सम्पन्न भएको थियो। उहाँले सबै सरोकारवालाको सहभागिता र योगदानप्रति आभार व्यक्त गर्दै दिगो सामुदायिक विकासप्रति कम्पनीको निरन्तर प्रतिबद्धता पुनः दोहो¥याउनुभयो ।