विराटनगर ।
बिहारको चर्चित कोचिङ विवादसँग जोडिएका तथा ‘ज्ञान विन्दु जीएस एकेडेमी’का सञ्चालक रौशन आनन्द (रौशन सर) का भाइ प्रिन्स यादव नेपालको विराटनगरस्थित एक होटलमा मृत फेला परेका छन्। उनको मृत्यु शंकास्पद अवस्थामा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रिन्स यादव पटनास्थित ‘खान ग्लोबल स्टडीज’ (खान सर) को कोचिङ सेन्टरमा भएको आक्रमण तथा तोडफोड प्रकरणका आरोपीमध्ये एक थिए। उक्त घटनापछि बिहार प्रहरीको खोजी सूचीमा रहेका उनी केही साथीहरूसँग नेपालमा बस्दै आएका थिए।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार राति विराटनगरको एक होटलमा उनको स्वास्थ्य अचानक बिग्रिएको थियो। केही प्रारम्भिक रिपोर्टहरूले अत्यधिक मदिरा सेवनपछि अवस्था गम्भीर बनेको उल्लेख गरेका छन्, तर मृत्युको वास्तविक कारणबारे आधिकारिक पुष्टि भइसकेको छैन।
घटनापछि नेपाल प्रहरीले होटल र घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। मृतकसँग रहेका केही व्यक्तिसँग सोधपुछ भइरहेको बताइएको छ। शवलाई पोस्टमार्टमका लागि पठाइएको छ र रिपोर्ट आएपछि मात्र मृत्युको कारण स्पष्ट हुने अधिकारीहरूले बताएका छन्।
यसैबीच, प्रिन्स यादवका दाजु रौशन आनन्द हाल पटनामा खान सरको संस्थानमाथि भएको आक्रमणसम्बन्धी मुद्दामा पक्राउ परेर न्यायिक हिरासतमा छन्। खान सर र रौशन सरबीचको प्रतिस्पर्धा पछिल्ला केही वर्षदेखि विवाद, हिंसा र कानुनी लडाइँसम्म पुगेको थियो।
प्रिन्स यादवको रहस्यमय मृत्युले भारतको बहुचर्चित कोचिङ सेन्टर विवादलाई थप रहस्यमय बनाएको छ। नेपाल र भारत दुवै देशका सुरक्षा निकायले घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान अघि बढाइरहेका छन्।











प्रतिक्रिया