सकस झेलिरहेको इरानलाई रोक्ने ‘अल व्हाइट्स’ को रणनीति


(इरान विरुद्ध न्यूजल्यिान्ड, खेल : मंगलवार बिहान ६ः४५ बजे)

फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो खेलमा एसियाली शक्ति इरान र १६ वर्षपछि विश्वकपमा पुनरागमन गरेको न्युजिल्यान्ड सोमबार राति अमेरिकाको सोफाई स्टेडियममा आमनेसामने हुँदैछन् । कूटनीतिक विवादका कारण खेलकै दिन अमेरिका प्रवेश गर्नुपर्ने र खेल सकिएकै दिन फर्कनुपर्ने चरम भौगोलिक तथा व्यवस्थापकीय चुनौतीका बीच इरान मैदानमा उत्रँदैछ ।

विश्वकपमा अहिलेसम्म समूह चरण पार गर्न नसकेको इरान पछिल्ला तीन खेलमा लगातार जित निकाल्दै बलियो लयमा छ । अलिरेजा जहानबक्स र मेहदी तोराबी जस्ता मुख्य खेलाडी चोटका कारण संसयमा रहे पनि १०५ क्याप जितेका स्टार फरवार्ड मेहदी तारेमी इरानी टोलीका मुख्य हतियार हुनेछन् । जसलाई मोहम्मद मोहेबी र मेहदी घायेदीले बलियो साथ दिनेछन् ।

अर्कोतर्फ, ओशिनिया क्षेत्रको विजेता बन्दै तेस्रो पटक विश्वकप खेल्न लागेको न्युजिल्यान्ड (अल व्हाइट्स) इतिहासमै पहिलो विश्वकप जितको खोजीमा छ । फिफा वरीयतामा इरानभन्दा ६५ स्थान तल रहेको र पछिल्ला ११ मध्ये ८ खेल हारिसकेको न्युजिल्यान्डको हालैको प्रदर्शन राम्रो छैन । टोलीका प्रमुख आशाहरू ३४ वर्षीय कप्तान तथा नटिङ्घम फरेस्टका फरवार्ड क्रिस वुडमाथि टिकेका छन्, जसले राष्ट्रका लागि ९० खेलमा ४५ गोल गरिसकेका छन् । इरानको कडा रक्षापङ्क्ति तोड्न कोस्टा बार्बारुसेसको अनुभव पनि न्युजिल्यान्डका लागि महत्वपूर्ण हुनेछ । ऐतिहासिक रूपमा दोस्रो हाफमा उत्कृष्ट गोल गर्ने छवि बनाएको इरान ४–२–३–१ र काउन्टर अट्याकमा विश्वास गर्ने न्युजिल्यान्ड ४–३–३ को रणनीतिसहित मैदान उत्रन सक्नेछन् ।