विपक्षी अवरोधपछि प्रतिनिधिसभा बैठक पुनः स्थगित, प्रधानमन्त्रीको उपस्थितिको माग


काठमाडौं

प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षी दलको अवरोधका कारण स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले प्रधानमन्त्री सदनमा उपस्थित भई जवाफ दिनुपर्ने माग गर्दै बैठक अवरुद्ध गरेको हो।

सभामुख डीपी अर्याल ले १५ मिनेटका लागि बैठक स्थगित गरे पनि त्यसपछि पुनः सुरु भएको बैठकमा पनि अवरोध कायमै रह्यो। यसअघि पनि सोही मागलाई लिएर बैठक रोकिएको थियो।

आजको बैठकमा प्रधानमन्त्री बालेन शाह ले आर्थिक वर्ष ०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची थियो। तर प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले लाई प्रस्ताव पेस गर्न रोस्ट्रममा बोलाइएपछि विपक्षीले विरोध सुरु गरेका थिए।

सभामुखले प्रमुख सचेतकहरूसँग छलफलपछि बैठक सञ्चालन गरेका थिए। तर पुनः विरोध भएपछि अवस्था तनावपूर्ण बनेको हो। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे ले प्रधानमन्त्रीको सदनमा उपस्थितिका लागि रुलिङ गर्न माग गरे।

तर सभामुख अर्यालले तत्काल रुलिङ नगर्ने र प्रधानमन्त्रीसँगको छलफलपछि मात्रै आगामी कार्यसूचीबारे निर्णय गर्ने बताएका छन्। विपक्षी अवरोध जारी रहेपछि बैठक पुनः स्थगित गरिएको छ।