अस्पतालमा ३८ लाख हिनामिना प्रकरणमा पाँच जना पक्राउ


काठमाडौं ।

कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत चन्द्रौटास्थित आधारभूत स्वास्थ्य सेवा अस्पतालको करिब ३८ लाख ९१ हजार रुपैयाँ हिनामिना भएको आरोपमा पाँच जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार अस्पतालको सेवा शुल्क र फार्मेसीबाट संकलित रकम बैंकमा दाखिला गर्दा नक्कली भौचर प्रयोग गरी रकम हिनामिना गरिएको खुलेको हो। आर्थिक वर्ष २०८१/८२ मा १२९ वटा भौचरका आधारमा बैंक दाखिला देखाइए पनि सो रकम बैंक खातामा जम्मा नभएको अनुसन्धानमा पाइएको छ।

पक्राउ पर्नेहरूमा अस्पतालका मेसु डा. अमित पाण्डेय, स्वास्थ्य शाखा प्रमुख चुडामणि भण्डारी, नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका कर्मचारीहरू कमलप्रसाद भण्डारी, विक्रम केसी र फार्मेसी सहायक रक्सना खातुन रहेका छन्।

उनीहरूविरुद्ध ठगी र आपराधिक विश्वासघातको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको छ।