युएफसीको ढोकामा उभिएका रवीन्द्र ढाँट

1.69k
Shares

काठमाडौं । 

नेपाली मिक्स मार्शल आट्र्स (एमएमए) को इतिहासमा मे २८, २०२६ केवल एउटा मिति मात्र नभएर नेपाली खेलकुदको दायरा विश्वव्यापी रुपमा चौडा हुने एउटा निर्णायक मोड बन्ने प्रबल सम्भावना छ ।

चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा हुने ‘रोड टु युएफसी’ को यो सिजन ५ अन्तर्गत रविन्द्र ढाँट “बझाङ्गको बाघ” को उपस्थिति केवल एक प्रतिस्पर्धा मात्र होइन, एउटा लामो र कठिन संघर्षको सुखद परिणति पनि हो ।

अस्ट्रेलियाली प्रतिद्वन्द्वी म्याटी ल्यानले चोट बेहोरेपछि फिलिपिन्सका किम्बर्ट एलिन्टोजोनसँग हुन लागेको यो नयाँ भिडन्तले खेलको रणनीतिक स्वरूपलाई नै बदलिदिएको छ । एलिन्टोजोनको भिडन्त शैली र रवीन्द्रको ‘ब्यान्टमवेट’ श्रेणीमा रहेको शारीरिक सन्तुलनलाई सूक्ष्म ढंगले विश्लेषण गर्दा, रवीन्द्र यसपटक थप घातक र हाबी हुने देखिन्छ ।

रवीन्द्रको सबैभन्दा ठूलो सबल पक्ष भनेको उनको ‘स्ट्राइकिङ प्रेसिजन’ र विपक्षीको मानसिक अवस्थालाई बुझेर गरिने अचानकको आक्रमण हो । भारतको एमएफएन च्याम्पियन बनेर उनले जुन आत्मविश्वास बटुलेका छन्, त्यसले उनलाई आठ कोणयुक्त जालीले बनेको रिंग अर्थात ‘अक्टागन’ भित्र एक परिपक्व ‘किलर’ को रूपमा उभ्याएको छ ।

रवीन्द्रको खेल कौशल र पछिल्ला खेलहरूको ‘ग्राफ’ हेर्दा, उनले यो प्रतिस्पर्धा सुरुवाती राउन्डमै आफ्नो पक्षमा पार्ने बलियो आधारहरू देखिएका छन् । एलिन्टोजोनको रक्षात्मक पङ्क्तिलाई उनले आफ्नो ‘लङ रीच’ र ‘लो किक’ मार्फत सुरुवाती मिनेटमै कमजोर बनाउन सक्ने क्षमता राख्छन् ।

धेरैजसो विश्लेषकहरू के मान्छन् भने, रवीन्द्रको पछिल्लो तालिम र शारीरिक अवस्थाले उनलाई ‘हाई इन्टेन्सिटी’ खेलका लागि तयार पारेको छ । यदि उनले खेलको सुरुवातमै विपक्षीलाई ‘ अक्टागन केज’ को कुनामा धकेल्न सके भने पहिलो तीन मिनेटभित्रै प्राविधिक नकआउट (टेक्निकल नकआउट) मार्फत नतिजा निस्कने भविष्यवाणी गर्नु अतिशयोक्ति हुने छैन ।

उनले हालैका दिनमा आफूभन्दा शारीरिक र प्राविधिक रूपमा बलिया मानिएका विपक्षीहरूलाई जसरी सहजै पराजित गरेका छन्, त्यसले उनको खेल ‘आईक्यु’ निकै उच्च रहेको पुष्टि गर्छ । यो खेलमा उनको जितले उनलाई विश्वकै सबैभन्दा ठूलो एमएमए प्लेटफर्म युएफसी सँग व्यावसायिक सम्झौता गर्ने पहिलो नेपाली फाइटरको ऐतिहासिक गौरव प्रदान गर्नेछ ।

रविन्द्र ढाँटको यो यात्रा एउटा साधारण मजदुरले देखेको असाधारण सपनाको कथा हो । सन् १९९८ मा बझाङको दुर्गम बस्तीबाट सुरु भएको उनको जीवनको लय भारतका सडकहरूमा मजदुरी गर्दै अगाडि बढेको थियो ।

अभाव र भोकमरीसँग जुधेको त्यो शरीरले आज विश्वका दिग्गज फाइटरहरूसँग जुध्ने साहस जुटाएको छ । उनको यो संघर्षले उनलाई केवल शारीरिक रूपमा मात्र होइन, मानसिक रूपमा पनि एउटा ‘हिमाल’ जस्तै अटल बनाएको छ ।

अक्टागनभित्रको दबाबलाई शान्त भएर झेल्न सक्नु नै उनको सफलताको रहस्य हो । सन् २०२५ मा इन्डियन राइनोलाई ढालेर च्याम्पियन बनेको त्यो क्षणले नै संकेत गरिसकेको थियो कि रवीन्द्र अब दक्षिण एसियाको घेरा तोडेर विश्व मञ्चमा राज गर्न तयार भइसकेका छन् भनेर ।

यो खेल केवल रवीन्द्रको व्यक्तिगत करियरको भविष्यसँग मात्र जोडिएको छैन, यसले त समग्र नेपाली एमएमए क्षेत्रको ‘मार्केट भ्यालु’ र सम्भावनालाई विश्वसामु परिभाषित गर्नेछ । मे २८ को बिहानी जब नेपाली समय अनुसार पौने ६ बजे मकाउको एरेनामा खेल सुरु भएको घण्टी बज्नेछ, तब ३ करोड नेपालीको आशा र भरोसा रवीन्द्रको मुड्कीमा हुनेछ ।

उनको खेलमा देखिने आक्रामकता र रणनीतिले स्पष्ट पार्छ कि उनी अब केवल सहभागी हुन होइन, इतिहास लेख्न मकाउ जाँदैछन् । एलिन्टोजोनका लागि रवीन्द्रको ‘ग्या¥पलिङ’ र ‘स्ट्राइकिङ’ को मिश्रणलाई झेल्नु निकै चुनौतीपूर्ण हुनेछ ।

त्यसैले, यो खेल रवीन्द्रले आफ्नो नियन्त्रणमा राख्दै छोटो समयमै सुखद नतिजा दिने र नेपाललाई युएफसीको नक्सामा समेट्ने प्रबल सम्भावना छ । “बझाङ्गको बाघ” को यो गर्जनले मकाउको एरेना मात्र होइन, सारा विश्वका खेलप्रेमीहरूलाई नेपाली वीरताको नयाँ परिभाषा बुझाउने निश्चित छ ।