काठमाडौं ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित भएको विषयलाई लिएर प्रतिनिधिसभा बैठक केही समय अवरुद्ध भएको छ।
बुधबार बसेको पहिलो बैठकमा प्रधानमन्त्री शाह उपस्थित नभएको भन्दै विपक्षी दलहरूले अवरोध गरेपछि बैठक रोकिएको थियो। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले दलहरूसँग छलफल गरेका थिए।
छलफलपछि प्रधानमन्त्री शाहले छलफलमा उठेका प्रश्नको जवाफ दिन आउने सहमति भएपछि बैठक पुनः सञ्चालन भएको एमाले सांसद ऐन महरले जानकारी दिए। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रममाथिको छलफल अघि बढाएका थिए।
तर बैठक फेरि अवरुद्ध भएको छ। नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीको अनिवार्य उपस्थितिमा मात्र छलफल अघि बढाउनुपर्ने अडान राखेका छन्। उनले नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको सहभागिता आवश्यक भएको भन्दै रुलिङको माग गरेका छन्।











प्रतिक्रिया