लालीबजार’ विवाद : सर्वोच्च अदालतभित्र हुलहुज्जत गर्न खोजेपछि रोशनी नेपाली पक्राउ


काठमाडौं ।

फिल्म लालीबजार प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेकी रोशनी नेपाली वादी पक्राउ परेकी छन्। सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका क्रममा इजलासभित्रै होहल्ला तथा हुलहुज्जत गर्न खोजेपछि अदालतको सुरक्षा व्यवस्थामा खटिएका प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

अदालत स्रोतका अनुसार सुनुवाइका क्रममा रोशनी नेपालीले इजलासभित्र चर्को विरोध जनाउँदै प्रक्रिया अवरुद्ध गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेका थिए। त्यसपछि उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको बताइएको छ। फिल्म ‘लालीबजार’ को प्रदर्शनविरुद्ध उनले यसअघि सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि सुनुवाइ भइरहेका बेला विवाद उत्पन्न भएको हो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने अदालतको मर्यादा विपरीत गतिविधि गरेको आरोपमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।