मुगुका पाटनमा यार्सागुम्बा जेठ १३ देखि  संकलन प्रवेश खुला 

376
Shares

मुगु ।

मुगुको मुगुम कार्मारोङ गाउँपालिकामा रहेका विभिन्न पाटन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा जेठ १३ देखि एक महिनाका लागि संकलन प्रवेश खुला गरिने भएको छ। आइतबार गाउँ कार्यपालिका बैठकले जेठ १३ गतेबाट यार्चा संकलन सुरु गर्ने निर्णय गरेको हो।

जिल्लाबाहिरकालाई प्रतिव्यक्ति दुई हजार ५ सय र जिल्लाभित्रकालाई २ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाका अध्यक्ष छिरिङ्क्याप्ने लामाका अनुसार प्रवेश शुल्क नतिरेर लुकी चोरी यार्सा टिप्ने जोकोहीलाई कारबाही गरिनेछ।

चैत महिनादेखि पाटनमा यार्सा उम्रिन सुरु हुने र जेठबाट स्थानीयले टिप्ने गरेका छन्। यार्सा संकलनका क्रममा वातावरणमा असर पुग्ने कार्य नगर्न पनि गाउँपालिकाले आग्रह गरेको छ।
यार्सा संकलनका समयमा सिसा प्लास्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न र चोरी नगर्न आग्रह गरिएको गाउँपालिका अध्यक्ष लामाले बताए।

गाउँपालिकाको आधिकारिक सूचनाअघि नै यार्सागुम्बा चोरी गर्न गएका २५ जनालाई यही वैशाख २४ गते सुरक्षाकर्मीले नियन्त्रणमा लिएको थियो।

यार्सा संकलन क्षेत्रमा चोरी डकैती लुटपाट नहोस् भनेर सुरक्षाकर्मीसमेत परिचालन गरिन्छ। पाटनमा स्वास्थ्यकर्मी पनि खटाइने गरिएको छ। गाउँपालिकाको सानो कोइकी, ठुलो कोइकी, रिमार, टाके, हाङदाङखोला, छापाखोलालगायत २ दर्जन पाटनहरूमा बढी यार्सा पाइन्छ।

यार्सा टिप्न कर्णालीका १० वटै जिल्ला र देशका अन्य जिल्लाहरू बाजुरा, अछाम, बझाङ, पोखरा, मनाङ, मुस्ताङ, सिन्धुपाल्चोकबाट पनि सर्वसाधारण पाटनमा पुग्ने गरेका छ्न्। संकलकहरूबाट यार्सा खरिद गर्न काठमाडौं, पोखरा, बझाङ, डोल्पाबाट व्यापारीहरू पाटनमा पुग्ने गरेका छ्न्।