काठमाडौं ।
प्रेस काउन्सिल नेपालमा एजुकेशनल कन्सल्टेन्सीबाट प्रवाह हुने सेवा मिडियाबाट आउने गरेका विषयवस्तु एवं आचारसंहिता र उजुरी प्रक्रियाबारे कन्सल्टेन्सीसम्बद्ध संस्था एवं कन्सल्टेन्सीका सञ्चालकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता गर्नुभएका प्रेस काउन्सिल नेपालका अध्यक्ष डा.कुमार शर्मा आचार्यले पत्रकारिता क्षेत्रबाट कसैकोपनि मानमर्दन नहोस् भन्ने विषयमा काउन्सिल चनाखो रहेको बताउनुभयो ।
उहाँले पत्रकार आचारसंहिता पूर्ण पालना गराउनु सबैको दायित्व भएकोमा जोड दिनुभयो । काउन्सिलले स्व–अनुगमनलाई थप मजबुत बनाउने बताउँदै सबैको सहकार्य र समन्वयमा मात्र स्वच्छ र मर्यादित पत्रकारिताको अभ्यास हुने बताउनुभयो ।
यस्तै कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य पदमराज जोशीले पत्रकारहरुको क्षमाताअभिवृद्धिमा सबैको सहकार्य आवश्यक भएको जोड दिनुभयो । यस्तै काउन्सिलका बोर्ड सदस्य शन्तराम बिडारीले पत्रकारिता क्षेत्रलाई व्यावसायिक बनाउन सबै मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरुले व्यावसायिक रुपमा चलेका सञ्चार माध्यमबाट यस क्षेत्रका विषयबस्तुहरु प्रभावकारी रुपमा सम्प्रेषण भइरहेकोप्रति धन्यवाद व्यक्त गरेका छन्। तर, पछिल्लो समय डिजिटल प्रविधिको विकाससंगै सञ्चालन भएका अनलाइन सञ्चार माध्यम मध्य केही अनलाइनबाट गलत तरिकाले समाचार सामग्री सम्प्रेषण हुँदा आफूहरु पीडित भएको बताएका थिए । कतिपय सञ्चारमाध्यले तथ्यगत पुष्ट्याइँबेगरका सामग्री सम्प्रेषण हुने, एकपक्षीय सामग्री सम्प्रेषण हुने सम्बद्ध निकाय-पदाधिकारीसंग कुराकानी नगरी सन्तुलनरहित सामग्री सम्प्रेषण हुने समस्याले व्यावसायिक मानमार्दन हुने गरेको गुनासो गरेका थिए ।
पछिल्ला दिनमा राजनीतिक दलको आवरणमा समेत मिडियाले दुख दिने गरेको उनीहरुको भनाइ छ । विज्ञापनको नाममा बार्गेनिङ गर्ने र विज्ञापन नदिए नकारात्मक समाचार प्रकाशन गर्ने धम्कीको प्रमाणसमेत आफूहरूसँग सुरक्षित रहेको उनीहरुको गुनासो छ ।
कार्यक्रममा सहभागीहरुले आधार-प्रमाणबेगर सामग्री सम्प्रेषण गर्दा पुगेको क्षति कसले पूर्ति गर्ने भन्ने विषय समेत उठाएका थिए । यस्तै बार्गेनिङ गर्ने र बिना आधार चरित्र हत्या गर्ने सञ्चार माध्यमहरुको कारबाहीलाई अझै प्रभावकारी र कानुन नै बलियो बनाउनुपर्नेमा जोड दिएका थिए । प्रेस काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सञ्चार माध्यमलाई सही सूचना सम्प्रेषण गर्ने व्यवस्था गर्न र आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भए काउन्सिलमा उजुरी दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा काउन्सिलका आचारसंहिता अनुगमन तथा उजुरी सुनुवाई महाशाखाका प्रमुख रामशरण बोहराले काउन्सिलको उजुरी सुनुवाइ प्रक्रिया र काउन्सिलका काम कारवाहीबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमको सहजीकरण मिडिया अनुगमनकर्ता प्रकाश शर्माले गर्नुभएको थियो ।











प्रतिक्रिया