लमजुङ ।
लमजुङको मर्स्याङदी गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई लक्षित गर्दै दुईदिने उद्यमशीलता प्रवद्र्धन तालिम भएको छ । राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रमअन्तर्गत आन्तरिक रोजगारी प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको हो ।

तालिम कार्यक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले वैदेशिक रोजगारीका क्रममा हासिल गरेका सीप, अनुभव र ज्ञानलाई स्वदेशमै सदुपयोग गरी आत्मनिर्भर बन्न तथा स्थानीय स्तरमै रोजगारी र उद्यम सिर्जना गर्न युवाहरुलाई प्रेरित गर्नुभयो । उहाँले गाउँपालिकाले उद्यमशीलता विकास, स्वरोजगार प्रवद्र्धन तथा उद्यमी युवाहरुलाई आवश्यक सहयोग र सहजीकरण गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल, जनप्रतिनिधि, कर्मचारी तथा तालिममा सहभागी युवाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
रोजगार संयोजक नन्दराज गुरुङले सहजीकरण गर्नुभएको कार्यक्रममा बेसीशहर नगरपालिकाकी उद्यम विकास सहजकर्ता अञ्जु कुमारी राना तथा मर्स्याङदी गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख दीपेन्द्रकुमार भण्डारीले उद्यमशीलता विकास, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार व्यवस्थापन तथा स्वरोजगारका अवसरसम्बन्धी विषयमा प्रशिक्षण दिनुभएको थियो ।
वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुलाई उद्यम सञ्चालन, व्यवसाय व्यवस्थापन तथा स्वरोजगारका अवसरबारे व्यावहारिक ज्ञान र सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिम जेठ ३० र ३१ गतेसम्म सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।











प्रतिक्रिया