७ बुँदे मागसहित प्रशिक्षार्थी चिकित्सकको माइतीघरमा प्रदर्शन


काठमाडौँ ।

काठमाडौँमा प्रशिक्षार्थी चिकित्सकहरूले ७ बुँदे माग राख्दै माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। उनीहरूले श्रम ऐनअनुसार दैनिक अधिकतम १२ घण्टा र साप्ताहिक ७२ घण्टाभन्दा बढी ड्युटी गर्न नपर्ने व्यवस्था, सातामा एक दिन अनिवार्य बिदा तथा अतिरिक्त समय काम गरेबापत भत्ता उपलब्ध गराउन माग गरेका छन्।

प्रदर्शनकारीले महिला प्रशिक्षार्थी चिकित्सकलाई तलबसहितको सुत्केरी बिदा, आवासीय चिकित्सकलाई बढेको तलब कार्यान्वयन, इन्टर्न चिकित्सकलाई अधिकृत छैटौँ तहसरह तलब तथा श्रम शोषण अनुगमनका लागि अधिकारसम्पन्न समिति गठन गर्नुपर्ने माग गरेका छन्।

यस्तै, आवासीय चिकित्सकले अध्ययन बीचमै छोड्नुपरे लाग्ने उच्च जरिवाना घटाउन, रिक्त सिट व्यवस्थापन गर्न तथा एमबीबीएस/बीडीएसपछि एमडी/एमएस/एमडीएस अध्ययनका लागि राखिएको एक वर्षे अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गर्न पनि उनीहरूले सरकारसँग माग गरेका छन्।