लमजुङ ।
राइनास नगरपालिका–८ स्थित सर्वोदय सेवाश्रममा २१ औँ ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार विरुद्ध सचेतना दिवसको अवसरमा आयोजित ज्येष्ठ नागरिकमा रहेको सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

एकीकृत सेवा कार्यालय लमजुङको आयोजनामा भएको कार्यक्रममा कार्यालयलय प्रमुख मीताकुमारी थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति लमजुङका प्रमुख पूर्णबहादुर गुरुङको प्रमुख आतिथ्यता भएको थियो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख पूर्णबहादुर गुरुङले ज्येष्ठ नागरिकहरु हाम्रो समाजका जीवित इतिहास भएको उल्लेख गर्दै उनीहरुलाई माया, ममता, सम्मान र मर्यादित व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमको अध्यक्ष मीताकुमारी थापाले सर्वोदय सेवाश्रममा कार्यक्रम आयोजना गर्न पाउँदा खुशी लागेको बताउँदै ज्येष्ठ नागरिकहरुको सम्मान, संरक्षण र अधिकार सुनिश्चित गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले नेपाल सरकारले ज्येष्ठ नागरिकका लागि विभिन्न कार्यक्रम तथा बजेट व्यवस्था गरेको उल्लेख गर्दै उपचार, सामाजिक सुरक्षा भत्ता, स्याहारसुसार तथा स्थानीय तहमा ज्येष्ठ नागरिक समिति गठन गरी आफ्ना हकहितका लागि आवाज उठाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
प्रशिक्षक तथा सर्वोदय सेवाश्रमका अध्यक्ष कृष्णराज ओलियाले राज्यले संविधानमै ज्येष्ठ नागरिकका अधिकार सुनिश्चित गरेको भए पनि पछिल्लो समय अन्तरपुस्ता ज्ञान हस्तान्तरण कमजोर बन्दै गएको बताउनुभयो । रोजगार र शिक्षाका कारण युवा पुस्ता गाउँबाट शहर तथा विदेश जाने क्रम बढ्दा हजुरबाहजुरआमा र नातिनातिनाबीचको सम्बन्ध कमजोर बन्दै गएको र यसले अनुभव तथा संस्कार हस्तान्तरणमा असर पुगेको उहाँको भनाइ थियो ।
त्यसैगरी, प्रशिक्षक अङ्गराज घिमिरेले ज्येष्ठ नागरिकहरुको स्वास्थ्य प्रवद्र्धनका लागि योग, ध्यान, स्वस्थ खानपान तथा एक्युप्रेसरको महत्वबारे विस्तृत प्रशिक्षण दिनुभएको थियो । उहाँले नियमित योगाभ्यास र सन्तुलित जीवनशैली अपनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा भानुभक्त थापामगरले स्वागत मन्तव्य राख्नुभएको थियो भने लेखा प्रमुख उत्तम गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
ज्येष्ठ नागरिकको सम्मान, संरक्षण तथा अधिकारसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा धमिलीकुवा ज्येष्ठ नागरिक समितिका अध्यक्ष राजु शर्मा चिलुवाल, सेवाश्रमका सञ्चार प्रमुख, आश्रमका बाबाआमा, विभिन्न समितिका पदाधिकारी तथा सदस्य, सेवाकर्मी कर्मचारी र रुद्र माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।











प्रतिक्रिया