योवर्ष माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई)को नतिजामा ६१ दशमलब ८१ प्रतिशत परीक्षार्थीले ‘ग्रेडिङ’ प्राप्त गरेका छन् । जसमध्ये ३ दशमलब ६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १सय ७७ जना रहेका छन् । ३.२ देखि ३ दशमलब ६ जीपीए ल्याउने ८१ हजार ३ सय ८५ जना, ८९ हजार १ सय २४ जनाले २ दशमलब ८ देखि ३.२ जीपीए, २ दशमलब ४ देखि २ दशमलब ८ सम्म ४८ हजार ४ सय ७९ ले प्रप्त गरेका छन् भने ४ हजार १ सय २६ जना विद्यार्थीले २ देखि २ दशमलब ४ जीपीए ल्याएका छन् । नियमित तर्फ यो वर्ष ४ लाख ३८ हजार ८ सय ९६ परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।
एसईईको नतिजा आए लगतै विद्यार्थीहरूले आफूले पढ्न चाहेको विषय, स्कुल छनोट गर्न स्कुल मै पुगेर वा विभिन्न माध्यमबाट बुझ्ने गरेका छन् । तर विद्यार्थीहरूलाई के पढ्ने, कुन क्षेत्रमा जाने भन्ने दुबिधा हुनु स्वाभाविक हो । एसईईपछि विद्यार्थीहरूका लागि विभिन्न विकल्पहरू रहेका छन् । माध्यमिकतह (कक्षा ११ र १२) अध्ययन गर्नका लागि विद्यार्थीहरूले आफूलाई उपयुक्त हुने विकल्प छनोट गर्न सक्छन् ।
नेपालको सन्दर्भमा एसईईपछि विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा ११ र १२ अध्ययन गर्न सक्छन् भने अन्तर्राष्ट्रिय डिग्रीका लागि ए लेभल, आईबी र सीबीएससी मध्ये एउटा छनोट गरेर अध्ययन गर्न सक्छन् ।
कक्षा ११ मा विषय छनोट
राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत विद्यार्थीहरूले कक्षा ११ मा तीन वटा अनिवार्य जसमा अङ्ग्रेजी, नेपाली र सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा अथवा गणित लिनै पर्ने हुन्छ । त्यसपछि तीन वटा ऐच्छिक विषय पढ्नु पर्ने हुन्छ । साथै विद्यार्थीले आफूले पढ्न सक्छु भन्ने लाग्दा थप एक विषय ऐच्छिक रूपमा लिने सक्ने व्यवस्था रहेको छ । त्यसका लागि भने आफूले पढ्ने स्कुलमा छ छैन विचार गर्नुपर्ने हुन्छ । विदेशी विद्यार्थीको हकमा कक्षा ११ र १२ मा नेपालका विद्यालयमा अध्ययन गर्न चाहेको अवस्थामा अनिवार्य नेपाली विषयको सट्टामा ऐच्छिक समूहमा रहेको अङ्ग्रेजी विषय पढ्न पाउने तथा ऐच्छिकमा उक्त विषय बाहेक अन्य कुनै एक विषय छनोट गरी पढ्न सक्ने छन् ।
तर विद्यार्थीले ऐच्छिक विषय छनोट गर्दा उच्च शिक्षामा आफू कुन क्षेत्रमा जाने हो सोही अनुसार विद्यार्थीले ऐच्छिक विषय छनोट गर्नुपर्ने हुन्छ । यसमा ध्यान दिनुपर्ने कुरा भने विश्वविद्यालयमा भर्ना प्रक्रिया कस्तो छ, कक्षा ११ र १२ मा कुन विषय पढेकाले विश्वविद्यालयमा कुन कुन संकाय अन्तर्गत भर्ना हुन पाइन्छ त्यसलाई पनि ध्यान दिन आवश्यक छ ।
प्राबिधिक शिक्षा
नेपाल सरकारले सञ्चालन गरेको प्राविधिक धारमा पनि विद्यार्थीहरू कक्षा ११ र १२ मा पाँच विषय सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, बालि विज्ञान र पशु विज्ञानमा भर्ना भएर पढ्न पाइन्छ । नेपाल सकारले कक्षा ९ बाटै यो धारमा पढ्नुपर्ने व्यवस्था गरेपनि सिटिइभिटीबाट सम्बन्धीत विधागत विषयमा १८ महिने कोर्स (टिएसएलसी) गरेका विद्यार्थीले यी विषयमा भर्ना भएर पढ्न पाउँछन् ।
यसैगरी सिटिइभिटीले एसईई दिएका विद्यार्थीहरूलाई मध्येनजर गर्दै विभिन्न कोर्षहरू सञ्चालन गर्दै आईरहेको छ । एसईईपछिका विद्यार्थीहरूका लागि सिटिइभिटीले डिप्लोमा तहका कार्यक्रम सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत अनमी, भेटनरी विज्ञान, वनस्पति विज्ञान, कम्प्युटर विज्ञान, सिभिल, इलेक्ट्रिकल र मेकानिकल इन्जिनियरिङ, ल्याब टेक्निसियन जस्ता विषयहरूको पढाई हुन्छ । प्राविधिक शिक्षा सीप र जीविकोपार्जनसँग जोडिएको शिक्षा हो । प्राविधिक शिक्षाले व्यवहारिक र प्रयोगात्मक शिक्षामा बढी जोड दिएको हुन्छ ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा नयाँ विद्यार्थी भर्ना गर्दा एसईई÷एसएलसीको प्राप्ताङ्कको आधारमा प्रवेश परीक्षा नदिइ सिधै भर्ना गर्न मिल्ने व्यवस्था गरेको छ ।
सम्पूर्ण कार्यक्रमहरूको शैक्षिक सत्र २०८२÷०८३ देखि अनलाईन आवेदन फाराम भराई एसईई÷ एसएलसीको प्राप्ताङ्कको आधारमा छनौट हुने छ । एसईईको प्राप्ताङ्कलाई जिपिए ४ अंक भार हुनेछ । जसमा सामुदायिक विद्यालयमा अध्ययन गरेकालाई १ अंक र संस्थागत विद्यालयमा अध्ययन गरेकालाई ०.८५ अंक गणना गरी योग्यताक्रम निर्धारण गर्ने गरी विद्यार्थी छनौट गरिनेछ ।
छिट्टै स्वरोजगार बन्न चाहने विद्यार्थीहरूले सीटीईभीटी अन्तर्गतका विषयहरू अध्ययन गर्दा राम्रो हुन्छ । अन्य विषयहरूको तुलनामा प्राविधिक विषय अध्ययन गर्दा छिटो समयमा अध्ययन सकेर रोजगार प्राप्त गर्न सकिन्छ ।
ए लेभल
क्याम्ब्रिज विश्वविद्यालयद्वारा उपलब्ध एडभान्स लेभल जनरल सर्टिफिकेसन अफ एजुकेशन नेपालमा ए लेभलका रूपमा पढाई हुँदै आएको छ । नेपालमा करिब ३२ वर्ष अघिदेखि यो विषय पढाई भईरहेको छ । यो दुई वर्षे कोर्स हो । एसईईपछि विद्यार्थीहरूले यो कोर्स अध्ययन गर्न सक्छन् । यो कोर्सले कक्षा ११ र १२ सरहको मान्यता पाएको छ । विश्वका धेरै मुलुकमा ७० वटा विषयमध्येबाट छनोट गर्न पाइने भए पनि नेपालमा भने १८ वटामध्येबाट छानेर चारवटा विषय पढ्नुपर्ने हुन्छ । यसको ६÷६ महिनामा परीक्षा हुन्छ भने एकचोटिमा ३ वटा विषयको परीक्षा अनिवार्य दिनुपर्छ । यो कोर्स अध्ययन गरेका विद्यार्थीहरूले विश्वका धेरैजसो देशमा गएर पनि अध्ययन गर्न पाउनेछन् ।
आईबी
नेपालमा सन् २००९ देखि आईबी डिप्लोमा कार्यक्रम सञ्चालनमा ल्याइएको छ । एसईईपछि डिप्लोमा तहमा यो कोर्स अध्ययन गर्न सकिन्छ । दुई वर्षको यो कोर्स पढ्नका लागि थोरै स्कुलहरूले मात्रै यो कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यो कोर्स अध्ययन गर्नका लागि विद्यार्थीहरूले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ । आईबी डिप्लोमा कार्यक्रम अन्तर्गत ६ वटा विषय समूह हुन्छ । यसका अतिरिक्त तीन वटा मुख्य कोर विषयहरू पनि अध्ययन गर्नुपर्छ ।
स्कुल छनोट गर्दा के कुरामा ध्यान दिने ?
१. स्कुलको छनोट सँगै शिक्षण सिकाई र पढाउने शिक्षकहरूको योग्यता र शिक्षण अनुभव हेर्न पनि आवश्यक छ ।
२. कलेज व्यवस्थापन र संचालकहरूको व्यवस्थापकीय अनुभव र स्थायित्व हेर्नुपर्छ ।
३. विद्यार्थीको चाहाना जहिलेपनि नयाँपन खोज्ने हुन्छ, उनीहरू पढिरहेको स्कुल छोडेर जान खोज्छन, नर्सरी देखि एसईईसम्म एउटै स्कुलमा पढियो, त्यो स्कुल छोडेर अर्कोमा जान पाए हुन्थ्यो भन्ने मनोभाव हुन्छ, त्यसैले अभिभावकसँगको छलफलमा विद्यालय छनोट गर्दा उत्तम हुन्छ ।
४. साथिको लहलहैमा वा अभिभावकले पनि छिमेकीको देखासिकी गरेर ठूला बिल्डिङ्ग भएका, ठूला ठूला चौर भएका वा विविध किसिमले विद्यार्थी तान्ने, जहिले सोध्दा पनि प्याक भैसक्यो भन्ने तर जाँच हुने बेलासम्म पनि भर्ना लिइरहने स्कुललाई राम्रोसँग चिन्न आवश्यक छ । धेरै विद्यार्थी भर्ना गर्ने तर गुणस्तरीय शिक्षा नदिने विद्यालयको पहिचान गरेर मात्रै भर्नाका लागि निर्णय गर्नु राम्रो हुन्छ । त्यस्ता विद्यालयले गुणस्तरीय शिक्षाको नाममा अनेकन विधिबाट विद्यार्थीको मार्कसिट मात्रै गुणस्तरीय बनाउने पनि गरेका हुन्छन् तसर्थ क्षणिक लाभको लोभमा फस्नु राम्रो हुँदैन ।
५. सकभर आफ्नो घर वा बसोबास गर्ने स्थानबाट नजिकको स्कूलमा भर्ना गर्नु राम्रो हुन्छ । लामो दुरीको विद्यालय छनोट गर्दा बसमा आउँदा जांदा नै विद्यार्थी थकित भैसकेका हुन्छन भने अध्ययनका लागि समयको बचत पनि हुन्छ ।
६. अबको पढाइ अनलाइन (भर्चूअल) र भौतिक उपस्थिति दुबैको मिश्रित भईरहेको छ । त्यसैले सूचना र प्रविधिमैत्री वातावरणको मूल्याङ्कन गर्नु पर्छ ।
७. सबैभन्दा महत्ववपूर्ण कुरो शुल्क हेर्नुहोस, महँगो शुल्क लिने स्कुल गुणस्तरीय नहुन पनि सक्छन् । साथै आफ्नो आर्थिक हैसियत हेरेर विद्यालय छनोट गर्नु राम्रो हुन्छ,
प्रतिक्रिया