हराएको म


आफ्नो गाउँठाउँ वरपर,
रातको अँध्यारोमा पनि थाहा थियो—
कहाँ खाल्डो छ,
कहाँ भीर पर्छ,
कुन मोड साँघुरो छ,
कुन ढुङ्गो चिप्लो।

टेक्न मिल्ने ठाउँहरू
मुटुमा कुँदिएको नक्साजस्तै चिनिएको।
रातभरि हिँड्न परे पनि
उज्यालो नचाहिने, डर नलाग्ने।
किनभने
त्यो ठाउँ, त्यो समय र त्यो म—
एक-अर्कासँग गाढा चिनजानमा थियौं।

तर आज यो सहरमा छु,
जहाँ छन् सडक, बत्ती, गुगल म्याप
र अत्याधुनिक डिभाइसहरू साथमा ।
तर म दिउँसै हिँड्दा पनि
हराइरहेको छु।

यहाँ—
न बाटो चिनिन्छ,
न आत्मा।
न आफ्नै छायाँसँग
पहिचान मिल्छ।

विडम्बना!
समय फेरियो,
परिस्थिति बदलियो,
र म आइपुगेँ यहाँ—
जहाँ न ठाउँले मलाई चिन्छ,
न मैले ठाउँलाई।

कस्तो वातावरण हो यो?
जहाँ मानिसहरू छन् वरपर,
तर हृदय नै नभएका जस्ता।
हिँड्छन्, बोल्छन्, हाँस्छन्—
तर आत्मीयता हराएका जस्ता।

घाम लागिरहेछ,
उज्यालो देखिन्छ,
तर मनमाथि
ढपक्क बादलजस्तो अनाम चिसोपन।

खाना खाइन्छ,
पेट भरिन्छ,
तर स्वाद—
नुनै नपुगेको जस्तो।

सास त चलिरहेकै छ,
तर कतै निस्सासिरहेको जस्तो।
म बाँचिरहेको छु,
तर हराएको छु—
आफ्नै भित्र,
आफ्नै अस्तित्वमा।