म्युजिक खबर अवार्डमा गोविन्द र बबिना सर्वोत्कृष्ट यादव खरेल दीर्घ साधना सम्मानबाट सम्मानित


शुभकामना मिडिया सोलुसनको आयोजनामा १२औँ म्युजिक खबर म्युजिक अवार्ड २०८१ राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ ।अवार्डका सल्लाहकार राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले गीतकार, फिल्म लेखक, निर्माता तथा निर्देशक यादव खरेललाई ५१ हजार रुपियाँ नगदसहित दीर्घ साधना सम्मानबाट सम्मानित गरे ।

गीत संगीत र नृत्यका साथ अघि बढेको समारोहमा सुगम संगीतर्फ गोविन्दमधुर आचार्य र बबिना भट्टराईले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुमे।

कार्यक्रममा नरेश रेग्मी र अन्जु पन्त युगल गायन, दिपेन्द्र आले डायस्पोरा गायक, सुरज पण्डित गायक जुरी अवार्ड, एलिना चौहान पपुलर गायिका, नरहरि प्रेमी संगीतकार, केशव पौडेल संगीतकारको जुरी अवार्ड, महेश आचार्य गीतकार, भुपेन्द्र बुढाथोकी जुरी गीतकार अवार्ड, विपिन आचार्य संगीत संयोजक, सुशीलबिक्रम शाह ध्वनि सम्पादन, शान थापा म्युजिक भिडियो निर्देशक, विनोद श्रेष्ठ र उषा सुवेदी भिडियो मोडल, रुपेश थापा भिडियो छायाँकार र रबिन बिक भिडियो सम्पादन, पपगायनतर्फ प्रेज्वल नेपाली गायक, सारिका घिमिरे गायिका, रमेश कोइराला गीतकार, जुगल डंगोल संगीतकार र सुदीप भण्डारी (जिबब) र्‍यापर, लोकदोहोरीतर्फ सरोज लामिछाने गायक, सुनिता बुढा क्षेत्री गायिका, कृष्ण केसी संगीतकार, सन्तोष सापकोटा र सामना शाह गीतकार, तेजेन्द्र दूरा संगीत संयोजक, खड्ग बाजुराली ध्वनि सम्पादन, मौसम हिमाली म्युजिक भिडियो निर्देशक, उमेश भट्ट नव म्युजिक भिडियो निर्देशक, बादल घिमिरे र अस्मिता पुरी मोडल, रेश्मा तामाङ कल्चरल गीत गायिका, शुक्र तामाङ र गायिका रेजिना परियारको ठट्यौली ठाडो भाका गीत कल्चरल गीत, रायन बस्याल नव गायक, रामचन्द्र चन्दको पापिनी लोकगीत, सबिन आचार्य र निशा गुरुङ प्रत्यक्ष गायक गायिका, सुशील ज्ञवाली र संगम लामिछाने पब्लिक च्वाइस अवाड, फिल्मी संगीततर्फ प्रमोद ढुंगाना गीतकार, अर्जुन पोखरेल संगीतकार, सुमिन खड्का र नम्रता खरेल गायक गायिका तथा सबिन सुवेदी इकरेजमेन्ट अवार्ड विजेता भए ।

अवार्डकी संयोजक सविता पोखरेलका अनुसार उत्कृष्ट पाँचका मनोनयनमा परेका मध्येबाट सर्वोत्कृष्ट बन्नका लागि निर्णायकको तर्फबाट ५०, पब्लिक भोटबाट ४० र आयोजकको तर्फबाट १० प्रतिशत गणना गरी विजेता छनौट गरिएको थियो।

सञ्चारकर्मी निराजन भण्डारी र गायिका तथा कार्यक्रम प्रस्तोता मञ्जु पौडेलद्वारा सञ्चालित कार्यक्रममा म्युजिक खबर रजत सम्मानबाट तिलकसिंह पेला, दशक संगीतबाट गायक खुमन अधिकारी र गायिका जुनु रिजाल, युवा संगीत सम्मानबाट गायिका मिना लामा, बालप्रतिभा सगीत सम्मानबाट पूजा देवकोटा, डायस्पोरा संगीत सम्मानबाट न्युजिल्याण्ड निवासी गीतकार रमिल अधिकारी, स्रष्टा सम्मानबाट गीतकार शेखर ढुंगेल र निर्देशक दिवाकर भट्टराई, कला सम्मानबाट कोरियोग्राफर गम्भीर विष्ट, सामाजिक सेवा सम्मानबाट सफला मैया राजभण्डारी, फोटो पत्रकारिता सम्मानबाट प्रदीपराज वन्त र ब्युटी प्याजेन्ट कोरियोग्राफर सम्मानबाट अश्विनीकान्त झालाई सम्मानित गरिएको थियो भने पत्रकार एमपी सुब्बा र दीपाञ्जली शाहलाई जनही ५ हजार ५ सय ५५ रुपियाँ सहित संगीत कला पत्रकारिता सम्मानबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री पाण्डेले विशिष्टदेखि अनुजसम्मका स्रष्टा कलाकारलाई एकै ठाउँमा जम्मा गरेर सम्मानको वातावरण बनाएकोमा हर्ष प्रकट गरे। अवार्डका अध्यक्ष सुमन पण्डितले कला क्षेत्रलाई समृद्ध बनाउन कलाकर्मीको योगदान रहेको चर्चा गरे ।