मञ्जिरा : द म्युटेड मेलोडी,१० वर्षे द्वन्द्वको अव्यक्त आर्तनाद

3.48k
Shares

नेपालमा १० वर्षसम्म चलेको द्वन्द्वका कथा र घाउका पीडा सयौँ छन् । कति व्यक्त भएका छन् कति अमिट चोट बनेर अव्यक्तरूपमै छरपस्ट छन् । तीनैमध्ये एउटा कथा र त्यसकै घाउको पीडालाई प्रतिनिधिमूलक घटनाका रूपमा टपक्कै टिपेर नाटकको रूप दिइएको छ ।

राजधानीको नयाँ बानेश्वरको थापागाउँस्थित मण्डला थिएटरमा यस्तै व्यक्त अव्यक्त पीडाको उजागर गर्दै मञ्जिरा द म्युटेड मेलोडी नामको नाटकले रंगमञ्चप्रेमीलाई थिएटरसम्म डोहोर्‍याइरहेकको छ। मञ्जिरा : द म्युटेड मेलोडीको पर्दा उघ्रिन्छ एउटी युवतीको अमूर्त प्रस्तुतिबाट। गहिरो निलो प्रकाश संयोजनसँगै उनको प्रस्तुतिबाट दर्शकलाई लाग्न सक्छ नाटक हरर कहानीमा रहेछ । डरलाग्दो शैलीको धुनको तालमा युवतीको विक्षिप्त आर्तनाद र छटपटीबाट शुरू हुने संवादले दर्शकलाई शुरूमै थ्रिल गर्दै नाटकप्रतिको कौतुहलता बढाइदिन्छ ।

निलोबाट परिवर्तन भई रातो प्रकाशको पृष्ठभूमिमा ती युवतीको शास्त्रीय नृत्यको मिश्रण लाग्ने छटपटाहटले शुरूमै दर्शकलाई संकेत दिन्छ नाटक गहिरो विषयमा छ, अव्यक्त कथा व्यक्त हुँदैछ। कोलाहलयुक्त ध्वनिसँगै बढ्ने छटपटाहटपछि युवती मञ्चमै ढल्छिन्। अनि बल्ल शुरू हुन्छ नाटकको मूल कथा ।

मञ्जिरा : द म्युटेड मेलोडीमा नाटककी प्रमुख पात्र मञ्जिराले शुरूमा पोखेको भावनामै अघि बढ्छ। उनलाई एक अतीतको धुनले बेलाबेला झस्काइरहन्छ । पीडाले उथलपुथल मञ्जिराले २० वर्षपछि सुनेको त्यही धुनले फेरि उनलाई विगतमा फर्काउ“छ। युद्धका दुई दशकपछि मञ्जिरा आफ्नो विगतबाट आएका एक व्यक्तिसग आमने–सामना हुन्छिन्। जसको उपस्थितिले उनको वर्तमानको शान्तिलाई विचलित बनाइदिन्छ । मञ्जिरा र उनीजस्ता द्वन्द्वपीडितका लागि राज्यले उच्चस्तरीय सत्य निरुपण छानबिन आयोग गठन गर्छ। वकिलको पेशा हुँदै सामाजिक अभियन्ताका रूपमा सक्रिय आयोग अध्यक्ष तनावबाट मुक्ति पाउन बर्दियाको गाउँमा बसोबास गरिरहेकाले मञ्जिराले आप्mनै ठाउँमा उनलाई पाउँछिन्।

जसबाट न्यायको आशा गरिन्छ। आयोग अध्यक्ष वकिल गोपाल पीडित र पीडक दुबै सामुन्ने हुँदा पनि त्यस घटनालाई नजरअन्दाज गर्न खोज्छन्। उता वकिल पत्नी शान्ति आप्mनो पुरानो वकिल जीवनमा फर्कदैँ मञ्जिरा र उनको प्रेमीको पक्षमा उभिन्छिन्। अनि प्रश्न उठ्छ पीडितले न्याय पाउन् भनेर छानबिन अगाडि बढाउन नखोजिएको हो वा आयोगको काम नै सकिन्छ भनेर?

घटनाक्रम टकरावमा बदलिन थाल्छ। तर यो केवल एक टकरावमात्र नभई लामो समयदेखि दबिएका सत्य र नसुल्झिएको इतिहाससँगको एक हिसाब–किताब हुन जान्छ। पात्रहरूको आन्तरिक द्वन्द्व, सामाजिक दबाब, द्वन्द्वको समयमा महिलाले भोग्नु परेको यातना र यौन हिंसाको पीडा तथा व्यक्तिगत संघर्षका साथ नाटक दु्रत गतिले अघि बढ्छ। अवस्था यस्तो सिर्जना हुन्छ कि दर्शकका लागि त्यो चाखलाग्दो बन्न पुग्छ। त्यो कसरी भन्ने जान्नका लागि चाहिँ सवा एक घण्टा समय छुट्टयाएर नाटक नै हेर्नुपर्छ।

ब्रेख्टियन नाट्यशैलीमा प्रस्तुत डार्क ड्रामाले परम्परागत रंगमञ्चको भावनात्मक प्रभावलाई जानाजान तोडिदिन्छ। दर्शकलाई महसुस गराउन होइन, सोच्न चाहिँ बाध्य बनाइदिन्छ।न्याय, स्मृति र पीडामा दबिएकाहरूको मौनताबारे समाजलाई गम्भीर प्रश्न गर्दै नाटक सकिन्छ। एरियल डोर्फम्यानको द डेथ द म्याडेनको व्याख्यामा सोमनाथ खनाल र सन्देश घिमिरेले नेपालीकरण गर्दै लेखेको नाटकको सबैभन्दा सकरात्क पक्ष यसका प्रतिकात्मक दृश्य हुन्। साँघुरो रंगमञ्चका जटिल दृश्यलाई नाटकका निर्देशक तथा परिकल्पनाकार सोमनाथ खनालले प्रतिकात्मकरूपमा प्रस्तुत गर्दै सरल बनाइदिएका छन्।

नाटकका धेरै दृश्यले दर्शकलाई हरर जनराका फिल्मले भन्दा बढी थ्रिल गराउँछ। जसका कारण नाटक शुरू हुनअघि नै स्क्रिनबाट सावधान गराइन्छ ‘केही दृश्य यस्ता हुन सक्छन्, जसले समान अनुभव बोकेको व्यक्तिलाई असहज वा भावनात्मक रूपमा पिरोल्न सक्छ। कृपया आफ्नो मानसिक र भावनात्मक स्वास्थ्यको ख्याल राख्नुहोला। तपाईंलाई कुरा गर्न वा सहयोग चाहिएको महसुस भएमा, नाटक अधि वा पछि हामीसँग सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

’ नाटकका केही दृश्यले रोमाञ्चक अनुभव गराउँछ त धेरै दृश्यले भावुक बनाइदिन्छ। सँगसँगै हासोमा परिणत गराउँदै दर्शकलाई शान्त पनि बनाइदिन्छ। गणतन्त्र खतरामा छ। गणतन्त्र, गणतन्त्रवादीबाटै खतरामा छ। मलाई त्यो सब गन्ध याद छ, त्यो अत्तर त्यो रक्सीको गन्ध, त्यसले बजाएको धुन। नाटक म तिमीलाई आफूलाईभन्दा बढी प्रेम र विश्वास गर्छु। फुकाउँथे शब्दका गाँठाहरू मेरो बोली नै परिबन्दमा छ। अल्झिरहन्छ एउटै धुन हर प्रहर हर क्षण कहिल्यै निन्द्रासम्म पुग्नै दिँदैन।

कहिले चिर निन्द्राबाट ब्युझिनै दिँदैन, लाग्छ मबाटै मेरो आत्मा चुडेको छ, निस्सासिदै म बाँचिरहेछुजस्ता गहकिला र मन छुने संवादले भरिएको छ। नाटकको ओपनिङ जति ग्रेञ्जर छ, क्लोजिङ त्यस्तै चाखलाग्दो छ। ब्याकग्राउन्ड म्युजिकले नाटकलाई बलियो बनाएको छ। त्यस्तै बलियो छ प्रकाश संयोजन र परिचालन। तर प्रकाश व्यवस्थापनलाई अभैm गहकिलो बनाउने ठाउँ पनि छ।

नाटकमा रंगकर्मी तथा अभिनेता सरोज खनालदेखि पहिलोपटक रंगमञ्चमा पाइला टेकेका अभिनेता सुशांक मैनालीसम्मले जीवन्त अभिनय गरेर नाटकलाई सजीव तुल्याइदिएका छन्। नाटकबाट सबैभन्दा बढी लाभ गुरुकुल नाटकघरकी विद्यार्थी सरस्वती चौधरी र मण्डलाकै विद्यार्थी अनुपज्योति न्यौपानेले लिएका छन्।

थुप्रै नाटकमा अभिनय गरेर खारिएकी सरस्वती नाटकमा केन्द्रीय भूमिकामा छिन्। उनका अभिनय यति बेजोड थियो कि नाटक सकिएपछि पनि उनलाई आप्mनो क्यारेक्टबाट बाहिर निस्किन कठिन भएको देखिन्थ्यो। नाटक सकिएपछि कलाकार र प्राविधिकको परिचय गराउने क्रममा समेत उनको अनुहारमा आक्रोश र आँखामा आँशु छचल्किरहेको देखिन्छ। मण्डलाका विद्यार्थी रंगकर्मी अनुपज्योति न्यौपानेले नकारात्मक भूमिकामै पनि बेजोड अभिनय गरेर दर्शकको मन जित्छन्।

फिल्ममा अभिनय गरे पनि पहिलोपटक रंगमञ्चमा देखिएका सुशांक मैनाली नाटकमा नयाँ लाग्दैनन्। रंगमञ्च र फिल्मी पर्दाबाट खारिएका सरोज खनाल र रंगमञ्चबाटै जमेकी सरिता गिरीको सहज स्वाभाविक र खारिएको अभिनयकै कारण केवल ५ कलाकारले निर्वाह गरेको नाटकलाई बलियो र जीवन्त बनाई दिएको छ। त्यसैले पनि वर्षात्को प्रतिकूल मौसमका बीच नाटक हेर्न दर्शकको ओइरो लागिरहेको छ।मण्डला थिएटर नेपालको प्रस्तुतिमा मण्डला थियटरमा गत जेठ १६ गते शुरू भएको नाटक आगामी असार ८ गतेसम्म मञ्चन हुनेछ।