काठमाडौं ।
जनमत वाङ्मय प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको हीरक जन्मोत्सव विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न भएको छ। दुवालको ७७औँ जन्मोत्सवको अवसरमा उहाँको व्यक्तित्व र कृतित्वमाथि चर्चा–परिचर्चा, पुस्तक तथा पत्रिकाको सार्वजनिकरण, कविता वाचन, गीत प्रस्तुति र सम्मान कार्यक्रम आयोजना गरिएको थियो।



जनमत वाटिकाद्वारा आयोजित समारोहको उद्घोषण इन्द्रनारायण भैलले गरेका थिए। कार्यक्रममा श्रव्यदृश्य सामग्रीमार्फत मोहन दुवालको जीवनयात्रा प्रस्तुत गरिएको थियो भने सोनी दुवाल र शिवानी श्रेष्ठले खादा अर्पण गरेका थिए।
राजु सरकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रूपमा स्वयं मोहन दुवाल उपस्थित हुनुहुन्थ्यो। वरिष्ठ समालोचक तथा लेखक प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा. रामप्रसाद दाहाल, वरिष्ठ चिकित्सक तथा कवि डा. अनन्त प्रसाद अधिकारी राष्ट्रकवि ममता, वरिष्ठ कलाकार सुन्दर श्रेष्ठ, साहित्यकार चन्द्रेश्वरी मल्ल, डा. कृष्ण सुवेदी, वरिष्ठ पत्रकार राकेश अवाललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि मोहन दुवालले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। स्वागत मन्तव्यसहित आफ्नो जीवनक्रमबारे संक्षिप्त जानकारी दिँदै दुवालले साहित्यिक यात्राका विभिन्न आयाम स्मरण गर्नुभयो।
सोही अवसरमा वरिष्ठ साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवालीले मोहन दुवालको व्यक्तित्व र कृतित्वबारे विस्तृत चर्चा गर्दै नेपाली साहित्यमा उहाँले पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले दुवाललाई निरन्तर साधना, सिर्जना र साहित्यिक अभियानका अथक अभियन्ताका रूपमा चित्रण गर्नुभयो।
कार्यक्रममा चर्चित गायक रामहरी न्यौपानेले शुभकामना गीत प्रस्तुत गरेका थिए। त्यस्तै, मोहन दुवालका सिर्जनामाथि केन्द्रित तीन महत्वपूर्ण कृतिहरू सार्वजनिक गरिएका थिए। सार्वजनिक गरिएका कृतिहरूमा ‘मुक्तक कवितामा मोहन दुवाल’ (सम्पादक : कृष्णकुमार वैद्य), ‘गद्य कवितामा मोहन दुवाल’ (सम्पादक : रामसुन्दर देउजा र श्रीकृष्ण बादे) तथा ‘ज्ञानगुनका कुरामा मोहन दुवाल’ भाग–५ (सम्पादक : शेरराज सिकाबोटी) रहेका थिए।
ती कृतिबारे क्रमशः कृष्णकुमार वैद्य, रामसुन्दर देउजा र सूर्यप्रसाद लोहनीले आफ्नो मन्तव्य व्यक्त गर्दै दुवालको बहुआयामिक साहित्यिक व्यक्तित्वको चर्चा गरेका थिए।
कार्यक्रममा विश्वलाल शाक्यले मोहन दुवालको कविता वाचन गरेका थिए भने राजेन्द्र श्रेष्ठ र मणिराज श्रेष्ठले दुवालप्रति समर्पित कविता सुनाएका थिए। सदिच्छा मन्तव्य राख्दै हरिशक्त भट्टराई र डा. कृष्ण सुवेदीले मोहन दुवालको साहित्यिक समर्पण र सामाजिक योगदानको प्रशंसा गरेका थिए।
विशेष आकर्षणका रूपमा वरिष्ठ कलाकार सुन्दर श्रेष्ठलगायत विभिन्न महानुभावहरूले मोहन दुवाललाई मायाको चिनो, शुभकामना खादा तथा दुबोको माला अर्पण गरेका थिए। उपस्थित साहित्यकार, कलाकार र शुभेच्छुकहरूले जन्मोत्सवलाई दुलाहाजस्तै सिंगारिएको उत्सवका रूपमा चित्रण गर्दै दुवालप्रति आफ्नो सम्मान प्रकट गरेका थिए।
हलभरि उत्साह, आत्मीयता र उल्लास छाएको उक्त कार्यक्रममा गीत, कविता, कथा र शुभकामनाको वर्षा भएको थियो। साहित्यिक परिवारको आत्मीय मिलन बनेको समारोहले मोहन दुवालप्रतिको सम्मान मात्र होइन, नेपाली साहित्यप्रतिको सामूहिक प्रतिबद्धतालाई पनि पुनः उजागर गरेको सहभागीहरूको भनाइ थियो।
कार्यक्रमको अन्त्य जनमत वाङ्मय प्रतिष्ठानकी सचिव सिर्जना दुवालको धन्यवाद ज्ञापनपछि सभापति राजु सरकारले मन्तव्यसहित सभा विसर्जन गर्दै गर्नुभएको थियो। त्यसपछि सहभागीहरूबीच जलपानको व्यवस्था गरिएको थियो।











प्रतिक्रिया