‘अस्मितालाई कत्रो ठूलो वज्रपात पर्यो ?’ उसको श्रीमान्को मृत्युप्रति साहिँली दिदीले सहानुभूति बाँड्दै भनिन् ।
अस्मिता केवल रोई मात्र रही । केही बोलिन । सुझाव दिँदै उनले पुनः थपिन् , ‘यस्तो त आफू खाने ठूलो शत्रुलाई पनि नपरोस् । अब तीन–तीनजना छोराछोरी यसले कसरी पाल्छे ? बरु ए नानी ! तँ अब जागिर खा । पढेलेखेकै छस् । यत्रो पढेलेखेको के काम ?’
गाउँपालिकामा कर्मचारी आवश्यकता परेको सूचना उसले थाहा पाई । साहिँली दिदीको सुझाव शिरोधार्य गर्दै उसले जागिरको लागि आवश्यक कागजपत्रसहित गाउँपालिकामा गएर निवेदन हाली । उसको नागरिकतामा श्रीमान्को थर ‘लम्साल’ थियो तर उसका प्रमाणपत्रहरूमा माइतीको थर ‘पौडेल’ थियो । यसै विषयमा कर्मचारी र उसका बीचमा ठूलै विवाद पर्यो । अस्मिताले विवाह दर्ताको प्रमाणपत्र पेस गरी र कर्मचारीको मुखमा बुजो लगाई ।
उसले लिखित र मौखिक परीक्षामा राम्रो अंक ल्याएर पास गरी । अन्तरवार्ता पनि राम्रो भयो । अस्मिता ढुक्क भई तर नतिजा आउँदा उसको नाम फेला परेन ।आफ्नो नाम नदेख्दा ऊ आक्रोशित भई । गाउँपालिकामा पुगेर हाकिमसँग ठाडै प्रश्न गरी, ‘मेरो भन्दा कम अंक आएको मानिसलाई किन नियुक्ति गरियो ? आखिर किन ?’
हाकिमले सहजै भने, ‘उहाँ त ठूलै नेताको भानिज पर्नुहुँदो रहेछ ।’ हाकिमको प्रत्युत्तर सुनेर अस्मिता हेरेको हेर्यै भई ।
– भूमिका गैरे तिमिल्सिना, गैंडाकोट ।
प्रतिक्रिया