तपाईंको जीवन बदल्न सक्ने तीन नियमहरू

7.14k
Shares


तीन कुराहरू छन् । तीनवटा कानुन छन् । यी कानुनमा तपाईँ बाँधिनुभएको छ । पहिलो कुरा तपाईँको जन्म भएको छ । दोस्रो तपाईँ जीवित हुनुहुन्छ र तेस्रो तपाईँले जानुपर्नेछ । यो तपाईँको कानुन हो । तपाईँले यो अवसर पाउनुभएको छ । तपाईँले यो जीवन पाउनुभएको छ । यी तीनवटा कुरा तपाईँले पाउनुभएको छ । तपाईँले यही कानुनभित्र बाँधिनुपर्ने हुन्छ । कसैले पनि यो कानुनलाई उल्लङ्घन गर्न सक्दैन । सबै प्राणीहरू यिनै तीन कुरामा बाँधिएका छन् ।

आएका थिए ती जानेछन्, राजा रङ्क फकिर
कोही सिंहासन चढेर गए, कसैलाई बाँधियो जन्जिर ।

तपाईँ दुःखबाट बच्न चाहनुहुन्छ । तपाईँ सुखमा रहन चाहनुहुन्छ तर परम सुख कहाँ छ ? ती हंस भएका स्थानमा परम सुख छ र त्यो तपाईँभित्र छ । तपाईँ त्यो परम सुखलाई बाहिर खोजिरहनुभएको छ । त्यो चिज तपाईँबाहिर प्राप्त हुँदैन । बाहिरको सुख त सुख भएपछि पनि दुःखी बनाउने खालको हुन्छ किनभने यो संसारको रीत हो । पानीले तपाईँको तिर्खा मेट्न पनि सक्छ र तपाईँलाई डुबाउन पनि सक्छ, मृत्युकै अवस्थामा पु¥याउन पनि सक्छ । आगोले खाना पकाउन पनि सक्छ अनि तपाईँलाई जलाएर खरानी बनाउन पनि सक्छ । यी दुवै कुरा छन् ।

यो दुनियाँको सुखको प्रकृति नै यस्तै हुन्छ । आज छ तर भोलि रहँदैन अर्थात् बदलिन्छ । हरेक चिज बदलिरहन्छ, फरक भइरहन्छ तर तपाईँ सकेसम्म नबदलियोस् भनेर प्रयास गरिरहनुहुन्छ । तपाईँ ऐनामा आफ्नो अनुहार हेर्नुहुन्छ । चाउरी पर्न थालेपछि तपाईँलाई राम्रो लाग्दैन । तपाईँ बजार जानुहुन्छ अनि जवान देखिनका लागि चाउरी नपरोस् भनेर क्रिम लगाउनुहुन्छ । मानिसहरू किन आफ्नो कपाललाई कालो बनाउँछन् ? तपाईँ मानिसहरूले तपाईँलाई जवान नै देखून् भन्ने अपेक्षा गर्नुहुन्छ । जवानी कपालमा हुने होइन, जवानी तपाईँको हृदयमा छ । जवानी दिलमा हुन्छ, जवानी हृदयमा हुन्छ ।

जीवनमा खुशी हुनेलाई नै खुशीको भण्डार कहाँ छ भन्ने कुरा थाहा हुन्छ । त्यो उसैभित्र छ । बाहिर बदलिन्छ, बदलिरहन्छ । आज छ, भोलि बितेर जान्छ, बदलिन्छ । साथी फेरिन्छ, जागिर फेरिन्छ । अवकाश लिनुपर्ने दिन पनि आउँछ । सबै कुरा गतिमान् हुन्छ । मौसम बदलिन्छ । तपाईँ त केही पनि नफेरियोस् भन्ने चाहना राख्नुहुन्छ । त्यो त्यस्तै नै भइरहोस् भन्ने ठाने पनि त्यो बदलिनेछ । तपाईँ जीवित रहेसम्म नबदलिनेचाहिँ एउटा मात्रै चिज छ । यो श्वासको आउनुजानु नै त्यो चिज हो । यदि यसलाई चिन्नुभएन, यसलाई बुझ्न सक्नुभएन भने खाली हात त आउनुभएकै थियो तर जाँदा पनि खाली हातै जानुहुनेछ । तपाईँ यसको अनुभव गर्न सक्नुहुन्छ । यसको आवागमनलाई अनुभव गर्न सक्नुहुन्छ ।

तपाईँले खोज्नुभएको चिज तपाईँभित्रै छ । त्यसको पर्खाइका लागि आफ्नो समय खेर नफाल्नुहोस् । तपाईँले याद राख्नुपर्ने एउटा कुरा के छ भने, त्यो परमानन्द तपाईँभित्र छ । तपाईँ कति भाग्यशाली हुनुहुन्छ किनभने तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । यसर्थ अरू कुनै कुरालाई याद नराखे पनि यति कुरालाई याद राख्नुहोस् । तपाईँको जीवनमा अँध्यारो भएको महसुस भयो । तपाईँलाई हरेक चिजले छोडिदिएको महसुस भयो भने पनि यदि तपाईँभित्र यो श्वास आइरहेको छ र गइरहेको छ भने यो विश्वलाई सञ्चालन गर्ने त्यस शक्तिले तपाईँलाई छाडेको छैन । त्यो तपाईँकै साथमा छ ।

यो दुनियाँ जतिसुकै तपाईँ विपरीत भए पनि, यो समय तपाईँ विपरीत भएको भए पनि अर्थात् सबै कुरा तपाईँका विपरीत भइरहेको भए पनि यदि त्यो चिज तपाईँभित्र आइरहेको छ र गइरहेको छ भने सबै कुरा ठीक हुन्छ । डराउनु आवश्यक छैन । यदि डराउनै छ भने अज्ञानतासँग डराउनुहोस् । अज्ञानी नहुनुहोस् किनभने ज्ञान तपाईँभित्रै छ । अँध्यारोबाट डराउनु आवश्यकै छैन किनभने प्रकाश तपाईँभित्रै छ । यदि तपाईँले त्यो दियो बाल्नुभएको छ भने त्यो कहिल्यै पनि निभ्दैन । समस्या त सबैको जीवनमा आउँछ नै । केही समस्यालाई तपाईँ जित्न सक्नुहुन्छ त कतिपयलाई जित्न सक्नुहुन्न तर जीवनको लक्ष्य समस्याहरूलाई जित्नु होइन ।

जीवनको लक्ष्य त त्यो परमानन्दको अनुभव गर्नु हो अनि आफ्नो जीवनलाई सफल पार्नु हो । एउटा बुझ्नुपर्ने कुरा छ । वास्तवमा तपाईँ कति भाग्यशाली हुनुहुन्छ ? दुःखका पछाडि मात्रै नदगुर्नुहोस् । समस्याले पहिला कोही अरूलाई दुःखी तुल्याउँथ्यो । अहिले तपाईँलाई दुःखी बनाइरहेको छ । तपाईँपछि कोही अर्कोलाई दुःखी बनाइदिन्छ । दुःख उही नै हो । दुःख फेरिँदैन । केवल तपाईँ नयाँ हुनुहुन्छ । तपाईँभन्दा पहिला पनि यस्तो हुन्थ्यो नै । तपाईँका सेखपछि पनि यस्तो हुनेछ । पहिला के हुन्थ्यो ? पहिला ‘पैसाको थैली हरायो’ भन्ने हुन्थ्यो ।

अहिले मोबाइल हराउँछ । कसैको थैली हराएपछि मेरो थैली कहाँ हरायो भन्ने चिन्ता हुन्थ्यो । अहिले मोबाइल हराउँदा पनि उस्तै दुःख हुन्छ । यी सबै चिजबीज, प्रविधिहरू बदलिरहन्छन् तर तपाईँ फेरिनुहुन्न । यसर्थ, आफ्नै पछि लाग्नुहोस्, चिन्ताका पछि होइन । चिन्ता हुन्छ नि– समस्याको समाधान कसरी गर्ने ? रातदिन तपाईँ आफ्नो मनोकाङ्क्षा पूर्तिका लागि कटिबद्ध रहनुहुन्छ । तपाईँ अरू व्यक्तिलाई विश्वास गर्न तयार हुनुहुन्छ । आपैmँलाई चाहिँ विश्वास गर्नुहुन्न । तपाईँको ध्यान कसमाथि छ ! तपाईँ अरू मानिसले आपूmसँग सत्य बोलून् भन्ने चाहना राख्नुहुन्छ । तपाईँ स्वयम् आपैmँसँग सत्य बोल्नुहुन्न । तपाईँ आफ्नो समय पनि खेर फालिरहनुभएको छ र तपाईँ ‘होइन, सबै कुरा ठीकठाक चलिरहेको छ’ भनेर भन्नुहुन्छ ।

तपाईँ आपूmले बुझेको चिजमा विश्वास गर्नुहोस् । बुझ्नुहोस् किनभने यो बुझ्ने अवसर हो । तपाईँ जीवित रहेसम्म तपाईँ त्यस चिजलाई चिन्न सक्नुहुन्छ । पहिचान गर्न सक्नुहुन्छ । यद्यपि एकदिन एउटा समय आउने नै छ । चाहे त्यो बीस वर्षपछि आए पनि, तीस वर्षपछि आए पनि, चालीस, पचास या त सय वर्षपछि आए पनि आउने नै छ । त्यसबाट कोही पनि जोगिएका छैनन् । तथापि, जहिले आए पनि त्यो आउँछ नै तर कोही पनि सधैँ जीवित रहँदैनन् । कालको रीत नै यही हो । यो त हुने नै छ । यसबारेमा जान्नका लागि तपाईँलाई कोही दिग्गज व्यक्तित्वको आवश्यकता नै पर्दैन । तपाईँको जन्म कहिले भयो भन्ने कुरा थाहा पाउनुपर्ने आवश्यकता पनि पर्दैन ।

तपाईँको भविष्यमा के हुनेछ ? एकदिन तपाईँ आउनुभयो, एकदिन तपाईँले जानुपर्छ । यही हो, तपाईँको भविष्य । म दुईवटा पर्खालकोे कुरा गरिरहेको छु । एउटा पर्खालबाट तपाईँ आउनुभयो अनि अर्को पर्खालबाट तपाईँले जानुपर्ने हुन्छ । जुन पर्खालबाट तपाईँ यहाँ आउनुभएको थियो त्यो पनि सत्य थियो । अनि, तपाईँ यहाँबाट भएर जाने पर्खाल पनि वास्तविक नै हो । तपाईँलाई यो श्वासमा कति शक्ति छ भन्ने कुराका बारेमा थाहा छ ! यो श्वासले त्यो दुईवटा पर्खाललाई छुट्याइदिन्छ । यदि यो श्वास नआउँदो हो त तपाईँको जन्म हुनासाथ तपाईँ गइसकेको हुनुहुन्थ्यो । यो चिज आइरह्यो र गइरह्यो भने यी पर्खालहरु पनि अलग्गै रहनेछन् । यो चमत्कार नभएर के हो त ! तथापि, हामी यस कुरामा ध्यान दिँदैनौँ ।

यही श्वासका कारण तपाईँ राम्रो देखिनुभएको छ । सिँगारपटार गरेका कारणले होइन । दाह्री मिलाएका कारणले होइन । दाह्री काटेर चिटिक्क परेका कारणले पनि होइन । श्वासका कारण तपाईँको जीवन चलिरहेको छ । त्यो चिज भएका कारण तपाईँ बोल्न सक्नुहुन्छ । तपाईँका आफन्तहरू छन् । त्यसका कारण तपाईँले जागिर खान सक्नुहुन्छ । त्यही चिज तपाईँसँग भएका कारण तपाईँ पकाउन पनि सक्नुहुन्छ र खान पनि सक्नुहुन्छ । यसकारण तपाईँ भाग्यशाली हुनुहुन्छ किनभने तपाईँमा यस्तो चिज विद्यमान छ ।

जुन चिजका कारणले यो सृष्टिको रचना सम्भव भएको हो नि, त्यो चिज तपाईँमा पनि छ । तपाईँमा दुईवटा चिजको मिलन भएको छ– एउटा नाशवान् छ अनि अर्कोचाहिँ अविनाशी । दुवै चिजको मिलन भएपछि तपाईँको जन्म भयो । अहिलेसम्म त तपाईँका सारा नाता–सम्बन्धहरू नाशवान् चिजसँग मात्रै गाँसिएका छन् । तथापि, तपाईँको सम्बन्ध त ती अविनाशीका साथ गाँसिनुपर्ने हो । यदि मानिसले मानवतालाई बिर्सियो भने के हुन्छ ? जे भइरहेको छ त्यस्तै नै हुन्छ । वास्तवमा मानिसले शान्तिको सान्निध्यतामा जीवनलाई धन्य तुल्याउनुपर्छ । आनन्दपूर्वक यो धर्तीमा मिलीजुली रहनु आवश्यक छ । मनमा लालसा नराख्ने मानिसहरूको खाँचो छ । हिराजस्ता त्यस्ता मानिसको आवश्यकता छ, जसले हरेक दिन शान्तिको अपेक्षा गरिरहेको हुन्छ । जसले यो संसारमा शान्तिको चाहना राखेको हुन्छ ।

उसले आफ्नो हृदयलाई आभारले भर्दछ । त्यसपछि आफ्नो आभारलाई बाहिर प्रस्तुत गर्न चाहन्छ– ‘वास्तवमा हे सृष्टिकर्ता, तिमीलाई लाखौँलाख धन्यवाद ! तिमीले मलाई यो अवसर प्रदान ग¥यौ ।’ आफ्नो जीवनलाई धन्य मान्दछ । एक–आपसमा फरक देखाउने कार्य धेरै भयो । यसबाट केही पनि लाभ भइरहेको छैन । मानिसहरू फरक छुट्याउँछन् । यो मेरो हो, यो तेरो हो । सन्त महात्माले ‘यो मेरो हो, यो तेरो हो’ भन्ने चिजलाई नै मायाको संज्ञा दिएका छन् ।

आफ्नो जीवन सफलीभूत भए पनि, नभए पनि त्यसका बारेमा चिन्ता गर्न छोडिदिनुहोस् । ईष्र्या गर्न छोड्नुहोस् । ‘ऊ कसरी सफल भयो, म किन हुन सकिन’ भन्ने कुरालाई बिर्सनुहोस् । उनी त तपाईँको हृदयमा बसेका छन् । उनैले सारा सृष्टिलाई सञ्चालन गर्छन् । उनैको दयाले यो श्वास आइरहेको छ र गइरहेको छ । तपाईँलाई अरू के चाहिन्छ र ! सबैभन्दा पहिला त ‘यो श्वासको आउने–जाने प्रक्रिया सम्भव हुनु नै हरेक मानिसका लागि ती सृष्टिकर्ताको आशीर्वाद हो’ भन्ने कुरा बुझ्नु अत्यावश्यक छ ।

के तपाईँ आफ्नो जीवनमा यस कृपालाई स्वीकार गर्नुहुन्छ या गर्नुहुन्न ? हरेक दिन, हरेक समय अनेकन् चिन्ताभित्र पिल्सिएर त्यो आशीर्वादतिर ध्यानै जाँदैन । तपाईँ जीवित रहेसम्म यो कृपा तपाईँका लागि उपलब्ध रहिरहन्छ । यसर्थ तपाईँ भाग्यशाली हुनुहुन्छ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल)