कश्मीरको पहलगाममा १६ दिनपहिले २६ जनाको ज्यान लिने गरी गरिएको आतंकवादी हमलाको सोमबार राति भारतले बदला लिएको छ । पाकिस्तान र पाकिस्तान अधिनस्थ कश्मीरका केही भागमा ‘अप्रेसन सिन्दुर’ कारबाही गरेको छ ।
पहलगाममा महिलाका सिन्दुर पुछिएको घटनाको सेन्टिमेन्ट बटुल्न ‘सिन्दुर अप्रेसन’ गरेको हो । उक्त कारबाहीमा मर्नेहरूको संख्या ३१ पुगेको छ भने करिब ६० बढी घाइते भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तानीको हात रहेको किटान गर्दै भारतले आतंकवादीलाई परास्त गर्न कारबाही शुरु गरेको हो । पाकिस्तानले भने भारतको सो भनाइ अस्वीकार गर्दै उक्त आक्रमणमा आफ्नो मुलुकको हात नभएको दाबी गरेको छ ।
सीमा जोडिएका दुई मुलुकबीच सन् १९४७ को विभाजनपछि कश्मीरलगायतका विषयमा चारपटक युद्ध भइसकेको छ । सन् १९४७, १९६५, १९७१ र १९९९ मा युद्ध भएको थियो । हरेक युद्धको केन्द्रविन्दु कश्मीर नै रहँदै आएको छ । पछिल्लो घटनाक्रम पनि पहलगाम आक्रमणबाट उत्पन्न भएको हो । पहलगाम काश्मिरनजिक पर्छ । दक्षिण एसियाका यी दुई ठूला देशबीचको युद्धको भय नेपालमा पनि परेको छ । दुई देशबीच युद्ध शुरु भएपछि नेपालका सबै सिमानामा भारतीय र नेपाली संयुक्त सुरक्षा गस्ती बढाइएको छ । नेपालमा रहेका दुई देशका राजदूतावासको सुरक्षा कडा पारिएको छ । दुई छिमेकी देशबीच युद्ध चर्कनु नेपालका लागि ठूलो समस्या हो ।
युद्धले अन्तर्राष्ट्रिय समुदायमा गम्भीर चिन्ता सिर्जना गरेको छ । संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले दुवै देशलाई संयमता अपनाउन आग्रह गरेका छन् । वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेका छन् । अमेरिकाले आणविक शक्ति सम्पन्न दुई राष्ट्रबीचको युद्धले क्षेत्रीय मात्र नभई विश्वव्यापी सुरक्षा संकट निम्त्याउने चेतावनी दिएको छ । चीनले दक्षिण एसियाली स्थायित्वका लागि कूटनीतिक वार्ताको आवश्यकता औंल्याएको छ । तर उसले भारतले युद्ध शुरु गरेको आरोप लगाएको छ । इजरायलले भारतको आतंकबाट प्रतिरक्षाको अधिकारको समर्थन गरेको छ ।
भारत–पाकिस्तान युद्धले दुवै मुलुकको आन्तरिक राजनीति, अर्थतन्त्र र कूटनीतिक सम्बन्धमा गम्भीर असर पार्न सक्छ । सैन्य खर्चको वृद्धिले विकास निर्माण कार्यहरूमा बाधा पुग्नेछ । विदेशी लगानी र पर्यटनमा गिरावट आउनेछ । युद्धले कश्मीर विवादलाई पुनः अन्तर्राष्ट्रियकरण गरेको छ ।
युद्धविराम, वार्ता र दीर्घकालीन समाधानको वातावरण निर्माण गर्न कूटनीतिक पहल गर्न अन्तर्राष्ट्रिय समुदायको मुख्य भूमिका रहन्छ । युद्ध रोकिएन भने त्यसको असर दक्षिण एसिया मात्र नभई विश्वभर पर्नेछ । युद्धले निर्दोष नागरिकको ज्यान जानेछ भने दुई देशको भविष्यमा खतरा उत्पन्न हुनेछ । युद्धले गर्दा दुवै मुलुकका जनताले क्षति व्यहोर्नुपर्ने हुन्छ । यसैले भारत र पाकिस्तानका जनताको हितका लागि पनि दुवै देशका राजनीतिक एवं सैनिक नेतृत्व संयमित हुनु आवश्यक छ । दुई देशबीच युद्ध चर्किंदै गएमा अमेरिका, चीनजस्ता ठूला र छिमेकी मुलुकले हस्तक्षेप गर्नुपर्छ ।
प्रतिक्रिया