एक दशकपछि विद्यालय शिक्षामा संघीयता आउँदै

५४ वर्षपछि राजाकालीन ऐन परिवर्तन हुँदै

80.28k
Shares

–उपसमितिको म्याद १० दिन थप
–असार १५ भित्र ऐन ल्याएरै छाड्ने प्रतिबद्धता
–निजी विद्यालय गुठीमा जानै सक्दैनन्

काठमाडाैं ।

करिब ५४ वर्षदेखि एउटै शिक्षा ऐनबाट मुलुकको शिक्षा प्रणाली सञ्चालन भइरहेको छ । २०२८ सालमा जारी भएको राजाकालीन शिक्षा ऐनले मुलुकको शिक्षा प्रणाली चलेको छ ।

त्यसलाई खारेज गरी अब विद्यालय शिक्षा ऐन आउने तरखरमा छ । शिक्षक आन्दोलनबाट आत्तिएको सरकारले अबको करिब एक महिनाभित्र ऐन ल्याउने तयारी गरेको छ । वैशाख १९ गते संसद्को दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले असार १५ गतेभित्र विद्यालय शिक्षा ऐन जारी हुने बताउनुभएको थियो ।

हुन त पटकपटक गरी ऐनको दशौं संशोधन भइसकेको छ । २०७२ सालमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा ऐनको मस्यौदा तयार भएको थियो । मन्त्री पोखरेलको कार्यकालमा मस्यौदा अध्ययनमै सीमित भयो । त्यसपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले ऐनको मस्यौदा तयार गरी संसद्मा पेस गर्ने योजना बनाउनुभएको थियो । उहाँको कार्यकालमा पनि ऐन आउन सकेन । सबै मन्त्रीले तयार गरेको ऐनको मस्यौदा शिक्षा, अर्थ र कानुन मन्त्रालयमा घुमिरहन्थ्यो । संसद्मा पेस हुन सकेको थिएन ।

पौडेलपछिका मन्त्री कृष्णगोपाल श्रेष्ठले गणतन्त्रमा पञ्चायतकालीन ऐनअनुसार चल्नु भन्दै परेको ऐन संशोधनको बाटो समात्नुभयो । उहाँको कार्यकालमा सम्भव भएन । मन्त्री पदबाट हटेपछि शिक्षामन्त्री हुनुभएका देवेन्द्र पौडेलले फेरि ऐन ल्याउन प्रयास गर्नुभयो । ऐन ल्याउने प्रयासमा रहेका २०७५ सालपछिका सबै मन्त्रीको एउटै भनाइ हुन्थ्यो– ‘मेरो कार्यकालमा शिक्षा ऐन जारी गर्नेछु । मेरो पहिलो प्राथमिकता संघीय विद्यालय शिक्षा ऐन ल्याउनु हो, यही कार्यकालमा आउनेछ ।’

सुमना श्रेष्ठले पनि ऐन ल्याउने गृहकार्य नगरेको होइन । पछिल्लो पटक मन्त्री अशोक राईले २०८० भदौ २७ गते मस्यौदा संसद्मा पेस गर्नुभएको थियो । विधेयकमाथि सांसदबाट १ हजार ७ सय ५८ वटा संशोधन परेको थियो । धेरै संशोधन प्रस्ताव परेकाले विधेयकलाई प्रतिनिधिसभाले थप छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाएको थियो । समितिले अध्ययनकै क्रममा रहेको जनाइरहँदा शिक्षकले ऐन ल्याउनुपर्ने माग गर्दै सडक आन्दोलन गर्ने चेतावनी दिएका थिए ।
चेतावनी दिएको साता दिन बित्न नपाउँदै चैत १७ देखि आन्दोलन शुरू गरे । २५ गतेबाट देशव्यापी आमशैक्षिक हड््ताल आह्वान गरे । २९ दिनको आन्दोलनपछि सरकारले महासंघसँग ९ बुँदे सम्झौता ग¥यो । त्यसमा असार १५ भित्र ऐन ल्याउने सम्झौता गरेको छ ।

अहिले विधेयकको छलफल अन्तिम चरणमा पुगेको छ । विवादित विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन गत चैत ८ गते एमाले सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । विधेयकमा १ सय ६३ दफा छन्  । उपसमितिलाई ३५ दिनको समय दिइएको थियो । सोमबार उपसमितिले प्रतिवेदन शिक्षा समितिलाई बुझाएको थियो । समितिले प्रतिवेदन तयार गर्न उपसमितिलाई थप १० दिनको समय दिएको छ । विधेयकसम्बन्धी प्रतिवेदन लेखनलाई पूर्णता दिन १० दिन म्याद थपका लागि उपसमितिले प्रस्ताव गरेको थियो । सोहीअनुसार समितिले म्याद थपिदिएको हो ।

उपसमितिले आइतबारसम्म ३९ वटा बैठक गरेर दफावार छलफल सकेको संयोजक विश्वकर्माले बताउनुभयो । उपसमितिको आइतबार बसेको बैठकले १० दिन म्याद थप गर्न समितिमा प्रस्ताव गर्ने निर्णय गरेअनुसार सोमबार उक्त निर्णय भएको हो । उपसमितिले प्रतिवेदन लेखन गरेपछि समितिमा बुझाउनेछ । समितिमा थप छलफल भएपछि मन्त्रालयले प्रतिनिधिसभामा पेस गर्नेछ । ऐनमा बाझिएका केही विषयमा समितिले फेरि छलफल गर्ने तयारी गरेको छ । ऐनमा निजी विद्यालयलाई गुठीमा लैजाने विषय पेचिलो बनेको छ । निजी विद्यालयको संस्था प्याब्सन, ऐन प्याब्सनलगायत निकायले विरोध गरेको छ ।