काठमाडौं ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तिहार तथा छठयता प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा भएका प्रमुख कार्यसम्पादन तथा उपलब्धिहरू सार्वजनिक गरेको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा प्रधानमन्त्री शाहले मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ। मंसिर ६ र ७ गते भएको भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता हुनुका साथै विभिन्न महत्त्वपूर्ण सहकार्यका विषयमा छलफल भएको जनाइएको छ।
यस अवधिमा जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनर्स्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरी बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको कार्यालयले जनाएको छ। साथै, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयमा पठाइएको छ।
कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। उक्त रकममध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
त्यसैगरी, सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरिएको छ। राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट सुझाव लिएर परिमार्जन प्रक्रिया पनि अघि बढाइएको छ।
सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न तथा तीनै तहका सरकारका कार्यक्रमबीच दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ। नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारीसमेत अघि बढाइएको छ।
राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा विभिन्न नियामक तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षाका विषयमा छलफल भएको कार्यालयले जनाएको छ। यसैबीच, सिंहदरबार प्रवेशद्वारमा लामो समयदेखि अवरुद्ध गेटपास प्रणाली आवश्यक प्राविधिक सुधारपछि पुनः सञ्चालनमा ल्याइएको छ।
पूर्वाधार तथा ऊर्जा क्षेत्रतर्फ लगानी सम्मेलन २०१९ मा प्रस्तुत गरिएको तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको छ। नेपाल–भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा शिलान्यास गरिएको उक्त परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको विवरणमा उल्लेख छ।
सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित र प्रभावकारी बनाउन पनि विभिन्न काम अघि बढाइएको छ। निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श प्रदान गरिएको छ। सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गरिएको छ।
त्यस्तै, सार्वजनिक खरिदका चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ। नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) समेत सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमा कात्तिक महिनामा एक हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्।
सुशासन र सार्वजनिक सेवा प्रवाह सुधारका लागि सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ। कर्मचारीको आचारसंहिता पालना, सेवा प्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न विभिन्न जिल्लामा टोली खटाउनुका साथै सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको छ।
यसैगरी, नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्तिको संरक्षण तथा व्यावसायिक सदुपयोगको सम्भावना अध्ययन गर्न धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रफलमा अनुगमन गरिएको छ। उक्त सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
कार्यालयले सार्वजनिक गरेको विवरणमा प्रशासनिक सुधार, डिजिटल प्रणालीको विस्तार, सार्वजनिक खरिदमा पारदर्शिता, लगानी प्रवर्द्धन, साइबर सुरक्षा, सुशासन तथा सामाजिक संरक्षणलगायतका क्षेत्रमा भएका कामलाई प्रमुख कार्यसम्पादनका रूपमा समेटेको छ।








तपाईंको विचार लेख्नुहोस्