ललितपुर ।
गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफैँ जोखिम निम्त्याउन नहुनेमा जोड दिएका छन् ।
शुक्रबार ललितपुर महानगरपालिकाद्वारा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’लाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र तिनले पु¥याएको जनधनको क्षतिका साथै पु¥याएको पीडा स्मरण गर्न कार्यक्रम भएको बताउँदै आगामी दिनमा भूकम्पलगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘हाम्रो नियतका कारण प्रकृतिलाई बिगार्यौं भने आफैँ जोखिममा पर्छौँं । हामीले निर्माण भौतिक संरचना मजबुत हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्न जरुरी, विपद्मा खोज उद्धार र राहतका प्रतिकार्य गर्न जरुरी छ । विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ ।’
गृहमन्त्री लेखकले विपद्पछिको पुनःनिर्माण, खोज, उद्धार र राहतका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे । उनले भने, ‘पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, ललितपुर महानगरले विपद् व्यवस्थापनमा अनुकरणीय काम गरेको छ, हामी जोखिमपूर्ण भू-भागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्ने छ ।’
गृहमन्त्री लेखकले विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको भन्दै प्रशंसा गरे । यस्तै, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालमा दुई सय ९३ बाट स्थानीय नगरपालिकामध्ये विपद् व्यवस्थापनमा ललितपुर महानगर अब्बल छ भन्ने दाबी गरेका छन् ।
उनले भने, ‘एउटै छानामुनी विपद्का सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेका छौँ, विपद्मा चार मिनेटभित्रै महानगरबाट सेवा प्रदान गर्छौँं, यो हामीले काम पनि गरिहेका छौँ ।’
प्रतिक्रिया