आज शुक्रबार रिलिजमा आउने फिल्म भूठानको मंगलबार राजधानीमा प्रिमियर शो गरिएको छ।
राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, साहित्यकार, खेलाडीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागितामा सम्पन्न प्रिमियर शोमा फिल्मले राम्रो प्रतिक्रिया पाएको छ। सहभागीहरूले ख्यातिप्राप्त अभिनेता हरिवंश आचार्य मुख्य भूमिकामा रहेको भूठानले नेपाली फिल्म क्षेत्रलाई एक सिंढी माथि उकास्ने बताएका छन्।
फिल्म हेरिसकेपछि नेपाली चेली तथा बलिउड अभिनेत्री मनीषा कोइरालाले फिल्म सबै दृष्टिकोणले उत्कृष्ट भएको बताइन्। ‘सिनेमा भनेको कथा भन्नु हो र उहाँले कस्तो मिठो ढंगले कथा भन्नुभएको छ, एउटा मान्छेको पीडा देखाउनु भाको छ। पेनफुल पोएट्री छ, तर यो एकदमै राम्रो छ’ अभिनेत्री कोइरालाको भनाइ छ ‘यो एउटा जीवनको संवेदनशील यात्रा हो। आप्mनो परिवारसहित परदेसिएका एक पुरुषको कथा, जसको अन्तर्मनमा आप्mनो जन्मभूमिको तान युगौँपछि अझै बाँकी रहन्छ।

कथा कविताजस्तै बग्दो लाग्यो– गहिरो, सुगन्धित र मन छुने। हरिवंशजीको अभिनय अत्यन्त आत्मीय र प्रभावशाली, शब्दविहीन क्षणहरूमा समेत भावनाको सम्पूर्णता पोखिने किसिमको। पटकथा, निर्देशन, र छायांकन सबैले मिलेर एक मौन तर शक्तिशाली अनुभवको सृष्टि गरे। फिल्म सकिएपछि पनि त्यो हृदयको कुनै कुनामा गुञ्जिरहन्छ।’ गायिका आनी छोइङ डोल्माले भूठानमा धेरै कुरा भएकाले जनमानसले फिल्मको स्वाद लिन नसक्लान् कि भन्ने चिन्ता व्यक्त गरिन्।
‘सबैभन्दा माथि त हरिवंश दाइले सायद पहिलोचोटि फरक चरित्रमा सरप्राइज दिनु भएको छ, एउटा साँच्चिकै रियल एक्टरको दर्शन चाहिँ यसपालि यो मुभिबाट पाइयो’ उनले भनिन्। अभिनेत्री स्वस्तिमा खड्काले फिल्मले शुरूदेखि अन्तिमसम्म रोकेर राखेको बताइन्। साम्बालाका निर्देशक मीनबहादुर भामले फिल्मको कथावस्तु मर्मस्पर्शी र प्राविधिक पक्ष राम्रो भएको चर्चा गरे।
ख्यातिप्राप्त हास्यव्यङ्ग्य अभिनेता मदनकृष्ण श्रेष्ठले फिल्म हेरेर धेरै खुशी भएको बताए।
‘हरिवंश आचार्यको फरक अवतार हेर्दा एकदमै मज्जा लाग्यो। हरिवंश र मबाट दर्शकले हाँसो खोज्दथे तर यसमा हाँसो केही पनि छैन। हँसाइराखेको मान्छेले शुरूदेखि नै गम्भीरता प्रस्तुत गरेको राम्रो छ’ मदनकृष्णको भनाइ थियो ‘अहिलेसम्म हेरेको फिल्ममा बेग्लै खालको फिल्म बनेको छ। यो घर हराएको कथा हो, घर भनेको के हो आप्mनो एउटा देश हो। देश भनेको नै घर घरको देश हो। भुटानी नागरिकले त आप्mनो कथा सम्झिँदै रुँदै हेर्छन् होला।’
नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले फिल्मले एकसाथ धेरैको कथा बोल्ने चर्चा गर्दै भुटानी शरणार्थीको कथाले हृदय छोएको बताए। नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रमार्पmत सुन्दर ढङ्गले पस्किएकाले दर्शकले आफूलाई त्यही पात्रसँग साक्षात्कार गर्ने चर्चा गरे। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले फिल्म राम्रो बनेको र हरिवंशको अभिनय उत्कृष्ट भएको बताए। क्रिकेटर सोमपाल कामीले फिल्मले एकदमै राम्रो काम गर्ने विश्वास व्यक्त गरे।
फिल्म निर्देशक तथा अभिनेता निश्चल बस्नेतले फिल्म फरक र राम्रो भएको बताए। ‘फिल्मका केही कुरा त्यहीँ बुझिन्छ भने केही सिन घर जाँदै गर्दा बुझिन्छ, केही सिन घर पुगेपछि बुझिन्छ। कतिपय सिनहरू दिमागमा आउँछ होला। फिल्म हेर्न राम्रो प्यासन चाहिन्छ’ निश्चलको भनाइ थियो।
विनोद पौडेलद्वारा निर्देशित फिल्मको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ। अंग्रेजीमा द वल्र्डस् ह्याप्पिएस्ट म्यान नाम दिइएको फिल्ममा हरिवंशका साथ दयाहाङ राई, अनुराधा मजुमदार, पूजा आर लामा, ऋचा घिमिरे, जोएस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी, हलिउडका ख्यातिप्राप्त अभिनेता बुस डर्नलगायतले अभिनय गरेका छन्।
भुटानबाट भारत र नेपाल हुँदै अमेरिकामा बसोवास गरिरहेका भुटानी शरणार्थीको देशप्रेम र आप्mनो थातथलो छोड्न पर्दा घर हराएको कथा उठाइएको फिल्म अविरल थापा, सुशांक मैनाली, राजेन्द्र ठकुराठी, अमिताभ जोशी र किर्तना बाँस्कोटाले निर्माण गरेका हुन्। फिल्मले आज शुक्रबारका लागि १ सय १० शो पाएको छ।
प्रतिक्रिया