हलिउड अभिनेता विल स्मिथ आफ्नै हरकतले विवादमा


हलिउड अभिनेता, ¥यापर एवम् फिल्म निर्माता विल स्मिथ एक भिडियोका कारण विवादमा तानिएका छन्।


सो भिडियोमा उनी एक सार्वजनिक समारोहको स्टेजमा स्पेनी पप गायिका इन्डिया मार्टिनेजलाई चुम्बन गर्ने प्रयास गरिरहेका छन्। सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी मियामीमा आयोजित प्रिमियो लो नुएस्त्रो अवार्ड समारोहमा मार्टिनेजका साथ गीत गाउ“दै गर्दा उनको निकै नजिक गएर चुम्बन गर्ने प्रयास गरिरहेका देखिन्छन्।


भिडियोमा उनीहरू फस्ट लभ बोलको गीतमाथि प्रस्तुति दिएर एकअर्काको धेरै नजिक आउँछन्। स्मिथले चुम्बन गर्न लाग्दा मार्टिनेज त्यसबाट बच्दै प्रस्तुति जारी राख्छिन्। सो भिडियो छोटो समयमै सामाजिक सञ्जालमा भाइरल भएको छ भने सामाजिक सञ्जाल प्रयोगकर्ताले स्मिथको आलोचना गर्दै उनले निकै लज्जास्पद र नसुहाउने हर्कत गरेको प्रतिक्रिया दिएका छन्।


यसअघि सन् २०२२ मा विल ओस्कार अवार्ड कार्यक्रममा होस्ट क्रिस रकलाई थप्पड हानेपछि विवादमा परेका थिए। त्यस बेला क्रिसले उनको पत्नी जाडा पिन्केटलाई कपाल नभएको विषयमा मजाक उडाएपछि रिसाउँदै उनले होस्टलाई थप्पड हानेका थिए। उनको सो हर्कतपछि ओस्कारले विललाई १० वर्ष प्रतिबन्ध लगाएको छ।

विल र उनकी पत्नी जाडा भने सन् २०१६ देखि अलग बसिरहेका छन्। आधिकारिक रूपमा भने सम्बन्ध विच्छेद गरेका छैनन्। सम्बन्धमा केही दरार आएपछि छुट्टै बसिरहेका उनीहरू बेलाबेलामा भेट्ने र सँगै आफ्ना काम अघि बढाउने गरिरहेका छन्।