अभिनेता दयाहाङ राइलाई निर्देशक दिपेन्द्र लामाले फिल्म दुःखी आत्मामा अभिनयका लागि प्रस्ताव राख्दा उनी शुरूमा दोधारमा परेका थिए रे। निर्देशक लामाले दयाहाङको करिअरमा मात्र होइन नेपाली फिल्म क्षेत्रमा नै फरक विधाको फिल्मको प्रस्ताव राखेका थिए।
यौन स्वास्थ्य, यौन मनोविज्ञान र हास्य विधामा आधारित फिल्मबारे बुझ्दै जाँदा आफ्नो लागि पनि फरक अनुभव हुने भएपछि दयाहाङले सो फिल्ममा काम गर्ने निधो गरेछन्। ‘मैले कहिल्यै पनि यस किसिमको फिल्मको अफर आउला र काम गरौँला भन्ने सोचेको थिइन। फिल्ममा उठाइएको यौन स्वास्थ्यसम्बन्धी विषय धेरैको समस्या रहेछ। यसबारे खासै बहस भएको पाईंदैन। तर हुनु चाँहि पर्ने हो’ दयाहाङले आज शुक्रवारबाट अल नेपाल रिलिजमा आउन लागेको फिल्मबारे भने ‘पछि काम गर्दै जाँदा यस्तो विषयमा पनि फिल्म बन्नु पर्छ भन्ने लाग्यो।’
अभिनेत्री आँचल शर्माले पनि यो आप्mना लागि फरक विषय भएको बताइन्। ‘मेरो लागि पनि यो विल्कुलै फरक र नसोचेको काम हो। बाहिर यस्तो विषयमा कयौं फिल्म बने पनि नेपालमा नबनेकाले ट्राई गरौं न त भनेर काम गरेको हो। दयाहाङ दाइ हुने भएकोले र उहाँसंग काम गर्न सजिलो हुने भएकाले पनि काम गर्न तयार भए’ आँचलले सुनाइन् ‘फिल्ममा मैले अनामिकाको रोल गरेको छु, जो म होइन र जुन कुरा मैले वास्तविक जीवनमा बोलेको छैन। त्यो गर्दा फरक अनुभव भयो। कतिपय अवस्थामा त मैले निर्देशक दिपेन्द्र दाइ र दया दाइलाई पनि मैले कसरी गर्ने होला पनि भनेकी थिए।’
फिल्मका निर्देशक दिपेन्द्र लामाले विभिन्न तथ्याङ्कको अध्ययन र विभिन्न डाक्टरसँग कुराकानी गरेर आफ्ना नजिकका व्यक्तिको वास्तविक अनुभव समेत सुनेपछि सो विषयमा फिल्म बनाएको बताए। ‘यो फिल्मलाई एडल्ट फिल्म भनिए पनि यसमा कुनै नग्न दृश्य छैन, चुम्बनसम्म छैन। यसमा गरिएका संवाद पनि द्विअर्थी भन्दा पनि प्रतीकात्मक छन्। यो मेनस्ट्रिममा फरक विषय भएकाले यस विषयमा फिल्म पनि पुरा गर्नुपर्छ भनेर फिल्म बनाइएको हो’ लामाले भने।
दीपेन्द्रकै लेखनमा बनेको फिल्ममा दयाहाङ र आँचलका साथ अनुपविक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्देललगायतका कलाकारले अभिनय गरेका छन्।
फिल्मले देशैभर उत्साहजनक शो पाएको छ। फिल्मलाई क्यूएफएक्स चेनले उपत्यकाका हलमा २४ शोज दिएको छ भने बीग मुभिजले ३, वान सिनेमाज् नयाँ बानेश्वरले ५, कालिमाटीले ४, एफक्यूब सिनेमाजले ५ र आइएनआई नयाँ बानेश्वरले ४ शोज दिएको छ। काठमाडौं बाहिर पनि फिल्मले सुखद शोज पाएको छ।
प्रतिक्रिया