अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाल विदेशीलाई देखाउने स्वदेशको मुहारका रूपमा रहेको अध्यागमनलाई प्रविधिमैत्री बनाउँदै व्यापक सुधार अभियानमा लाग्नुभएको छ । मुख्य गरी प्रणाली र व्यवहारमा सुधार गर्दै आपसी समन्वयबाट अध्यागमनको सेवा प्रवाहलाई प्रभावकारी र जनमैत्री बनाउने, गुनासोको उचित सम्बोधन गर्ने गरी आफू सुधार अभियानमा लागेको उहाँको तर्क छ । इमानदार प्रशासकको छवि बनाउँदै आएका महानिर्देशक रिजालसँग अध्यागमनको अवस्था, चुनौती र सुधार अभियानका बारेमा नेपाल समाचारपत्रका लागि सागर पण्डित र भवनाथ प्याकुरेलले गरेका कुराकानीको सम्पादित अंश :
स्वदेशको मुहारका रूपमा रहेको अध्यागमन सुधारका लागि के–कस्ता पहल गरिरहनुभएको छ ?
अध्यागमनले सामान्यतया प्रस्थान, आगमन र बसाइका विषयलाई व्यवस्थित गर्छ । यसका लागि विभाग र मातहतका कार्यालयले आवश्यक काम गरिरहेका छन् । प्रस्थानमा वैध कागजात भएका विदेशी वा स्वदेशी नागरिकले सहज किसिमले जान पाउने र वैध कागजात भएकालाई आगमनमा पनि सहज वातावरण नै सिर्जना गर्ने गरी आवश्यक व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसै गरी, विदेशीहरू नेपाल आइसकेपछि उनीहरुलाई कति समयसम्मका लागि अनुमति दिने, त्यो समयसम्म बसे कि बसेनन् अथवा यहाँ आएर अनैतिक गतिविधिमा संलग्न भए कि भएनन् वा के काम गरे वा अपराधमा संलग्न भए कि तथा अपराध गरेरै आएका हुन् कि भन्ने लगायतका विषय हेर्ने काम अध्यागमनको हो ।
अपराध गरेर आएका रहेछन् भने यहाँ बसेर सजिलै भाग्न नसकून् भन्ने विषयलाई पनि हेर्छौंं । त्यो हेर्ने सन्दर्भमा हामीले विशेष गरेर अहिलेको अध्यागमन प्रणालीमा सुधार गर्ने, कर्मचारीको व्यवहारमा सुधार गर्ने गरी सुधार अभियान थालेका छौं । अध्यागमन बहु निकायसँग समन्वय गर्ने निकाय हो । त्यसैले अन्य निकायसँग पनि आवश्यक समन्वय गरिरहेका छाैं । यसमा प्रणालीको सुधारका लागि नेपाली पोर्ट नामको प्रणाली सबै अध्यागमन कार्यालयमा लागू गरेका छौं । जसमार्फत सबै सेवाग्राहीको वास्तविक विवरण आउने गर्छ ।
यसलाई अझै सुधार गरेर अझै आधुनिकीकरण गरेर लैजाने अभियानमा छाैं ।
यसलाई अपग्रेड गर्नुपर्छ भनेर नेपाली पोर्ट अपडेट गर्न बजेट विनियोजन गरिएको छ । त्यसमा हाम्रो विभागको प्राविधिक निर्देशकको संयोजकत्वमा रहेको समितिले काम गरिरहेको छ । त्यसले नेपाली पोर्टमा गर्नुपर्ने सुधार गर्नेछ । अर्को, डाटा सेन्टरको स्थापना गर्नुपर्छ भनेर लागिरहेका छौं । डाटा सेन्टर जीआईडीसी छ । एयरपोर्टमा पनि डाटा सेन्टर राख्नुपर्छ भन्ने विषयमा काम गरिरहेका छाैं ।
त्यो काम पनि यही आर्थिक वर्षबाट शुरू हुन्छ । तेस्रो इन्टरनेटको समस्याका कारण यात्रुको आवागमनमा समय लाग्ने गरेको गुनासो आएपछि डार्ककोर प्रणाली एयरपोर्टमा जडान गरेका छौं । त्यसबाट नेट विच्छेद भयो भने पनि सेवा सुचारु हुन्छ । त्यसले समस्या कम भएको छ । अर्को समस्या समाधान गर्न ई–गेटको व्यवस्था गर्न लागेका छौं । विदेशमा कतिपय देशमा छाप लगाउने रुजु गर्ने कार्य अन्त्य नै गरिसकेका छन् । एक गेटबाट प्रवेश गरेपछि सबै कार्य गर्न सकिन्छ । जसबाट झन्झट कम हुन्छ । त्यो अत्याधुनिक प्रणाली पनि हो । त्यो प्रणालीलाई पनि लागू गर्न सकिन्छ ।
त्यसको सम्भाव्यता अध्ययन र लागत निकाल्ने काम भइरहेको छ । यसमा पनि आईटीको निरीक्षकले काम गरिरहनुभएको छ । यो आर्थिक वर्षमा लागत तयार पारेर खरिद प्रक्रियामा लानका लागि बजेट बिनियोजन गर्ने योजना छ ।
अर्काे एपिस भन्ने प्रणाली छ । त्यो भनेको कुनै पनि यात्रु आउनुभन्दा अघि नै उसको विस्तृत जानकारी पहिले नै भइसक्छ । जसले गर्दा आपराधिक व्यक्तिको पहिचान अगाडि नै आइसक्छ । यस प्रणाली मार्फत आपराधिक व्यक्ति पहिले नै थाहा हुने भएकाले पहिले नै रोक्न सकिन्छ । त्यसको पनि सम्भाव्यता अध्ययनको काम यही आर्थिक वर्षमा सक्ने गरी अगाडि बढाएका छौं । हाम्रा धेरैजसो काम अनलाइन प्रणालीमै आधारित छ । केही काम सहमति दिने, वर्किङमा आउनेलाई सहमति दिन सकिएको छैन । त्यसलाई पनि अनलाइन प्रणालीमा लैजान प्राविधिक काम गरिरहेका छौं ।
अर्को एउटा टुरिस्टको ट्रयाकिङ गर्ने काम पनि अगाडि बढिरहेको छ । होटल, ट्राभल एजेन्सीमा चेकिङ ग¥यो भने हाम्रो प्रणालीमा देखिने गरी काम गरिरहेका छौं । जसले गर्दा नेपाल आएकाहरु कहाँ र के गरिरहेका छन् भन्ने ट्रयाकिङ गर्ने विषय पनि रहेको छ । हामीकहाँ १२ वटा देशबाहेक अन्य देशका अनएराइभल भिसा छ । त्यो भनेको नेपालमै आएर भिसा प्राप्त गर्न सक्छन् । एकैपटक विदेशी नेपाल आउँदा नेपाली करेन्सी साट्नुपर्ने, भिसामा पनि लाइन लाग्नुपर्ने, समय लाग्यो भन्ने गुनासो सम्बोधन गर्नका लागि सहज प्रणाली ल्याउन खोजिरहेका छौंं । त्यसका लागि हामीसँग भएको क्यूआरकोड नै प्रयोग गरेर भुक्तानी गर्न सक्ने र लाइनमा लाग्नु पर्दैन ।
त्यो देखि बाहेक चीनसँग सीमा जोडिएका जिल्लाका बासिन्दालाई अनुमति पास जारी गर्ने गरेका थियौंं । त्यसैलाई आधुनिक बनाउनका लागि ई–पास जारी गर्ने कार्यविधि बनिसकेको छ । यो रसुवा र सिन्धुपाल्चोकमा शुरुआत गर्नका लागि पूर्वाधार तयार भइसकेको छ । ई–पास विस्तारै सबै जिल्लामा लागू गर्नका लागि कोेशिस गरिरहेका छौंं । अर्को डिजिटल इन्फरमेसन सिस्टम पनि लागू गर्न लागिरहेका छाैं । अटोमेटिक बोर्डर कन्ट्रोल प्रणालीमा लानुपर्ने भन्ने छ । त्यसका लागि आईटीको प्रयोग र नयाँ तरिकाका साथ विभागले काम गरेको छ ।
विदेशीहरु धर्म प्रचार गर्ने बाहानामा नेपाल आउँछन् भन्ने आरोप पनि छ । यसलाई कसरी हेर्नुभएको छ ?
यस विषयमा टुरिस्ट ट्रयाकिङ सिस्टम प्रणाली ल्याउन खोजिरहेका छौं । यसले त्यस्ता कार्यलाई नियन्त्रण गर्छ भन्ने हाम्रो विश्वास छ । विदेशीले जुुन प्रायोजनमा आएका छन् त्यसैमा काम गर्नुपर्छ । अरू काम गरेको देखिएमा अध्यागमन ऐनअनुसार कारबाही हुन्छ । अहिले पनि विदेशीलाई कारबाही गरेर विदेश पठाएको थुप्रै तथ्यांक हामीसँग छन् । सन् २०२४ मा नेपालमा बढी बसेका, अनैतिक कार्य गर्ने ४ सय ५८ जनालाई निष्कासन गरेका छौं । त्यस्ता व्यक्ति फेला परेमा पुलिसको सहयोग लिई फिर्ता गर्ने क्रमलाई तीव्र पारिरहेका छौं ।
सेवाग्राहीबाट अध्यागमनको काम प्रभावकारी नभएको गुनासो आइरहेको सन्दर्भमा सेवा प्रवाहलाई कसरी प्रभावकारी बनाउँदै हुनुहुन्छ ?
कतिपय समस्या कर्मचारीको व्यवहारका कारण आएका छन् । त्यस्ता कर्मचारीलाई बेला–बेलामा कारवाही पनि गर्ने गरिएको छ । कर्मचारीलाई सम्झाउन र गम्भीर गल्ती गरेको भए कामबाट हटाउने कार्य पनि गरेका छौं । भाषा र बुझाइका कारणले हो कि भनेर यो वर्ष केही कर्मचारीलाई अंग्रेजी भाषाको पनि प्रशिक्षण दिने योजना छ । कहिलेकाहीं गुनासो आयो भने सम्बन्धी कर्मचारीलाई सम्झाई–बुझाई गर्ने गरिएको छ । सेवाग्राहीमैत्री बन्ने गरी विभिन्न तालिमहरु समेत दिएर खटाउने गरेका छौंं । कर्मचारीलाई इमानदारितापूर्वक खट्न निर्देशन दिँदै आएका छौं र आवश्यकता अनुसार अनुगमन पनि गरिरहेका छांैं ।
अध्यागमन तस्करहरुको ट्रान्जिट बन्ने गरेको आरोप बेला–बेलामा लाग्ने गरेको छ । अहिलेको अवस्था चाहिँ कस्तो छ ?
अहिलेको बुझाइ एरपोर्ट भन्ने वित्तिकै अध्यागमनको विषय जोडिएर आउँदछ । त्यहाँ अध्यागमन एउटा मात्रै एजेन्सी छैन । झन्डै एक सयभन्दा बढी छन् । त्यसमा अन्य एजेंन्सीसँग पनि जोडिने विषय छ । हाम्रो बुझाइ एयरपोर्ट भनेकै अध्यागमन हो भन्ने छ । सबै एजेन्सीको आ–आफ्नो जिम्मेवारी र दायित्व रहन्छ । यस सम्बन्धमा हामीले स्पष्ट पार्न नसकेका कारण पनि अध्यागमनकै मात्रै कमजोरीका रूपमा लिइन्छ । यो विषयमा स्पष्ट पार्नुपर्ने अवस्था छ । कसले कमजोरी गर्छ । त्यो पक्षले नै जिम्मेवारी लिनुपर्छ । अहिले त अध्यागमनमा हामीले विशेष जिम्मेवारीका साथ काम गरिहेका छौं । त्यस्तो कुनै प्रकारको तस्करहरुको ट्रान्जिट रहेको अवस्था बिल्कुलै छैन । तर, यसमा सबै पक्ष र निकाय संवेदनशील बन्न जरुरी छ ।
अध्यागमनमा विदेशमा भएका असल अभ्यासलाई कत्तिको प्रयोग भए को छ ?
हामीले ई–पास आईटी जडान गर्ने कुराहरु गरिरहेका छौंं । विदेशमा रहेका राम्रा अध्यागमनका विषय लागू गर्ने कार्य गरिरहेका छौं । आन्तरिक रूपमा अन्य निकायसँग समन्वय गरेर अगाडि बढिरहेका छौं ।
–हाम्रा धेरैजसो काम अनलाइन प्रणालीमै आधारित छ ।
–टुरिस्ट ट्रयाकिङ सिस्टम प्रणाली छिट्टै ल्याउँछौं ।
–नेटको समस्या समाधान गर्न डार्ककोर प्रणली जडान गरेका छौं ।
–अपराधी पत्ता लगाउन वाच लिस्ट प्रयोग गरिरहेका छौं ।
– भिजिट भिसामा जानेलाई ६ बुँदे मापदण्ड लागू गरेका छौं ।
¬–सन् २०२४ मा मात्रै नेपालमा बढी बसेका, अनैतिक कार्य गर्ने ४ सय ५८ जनालाई निष्कासन गरेका छौं ।
फरार अपराधी, आतङ्ककारी र अवाञ्छित व्यक्तिहरुको पहिचान तथा आवागमन नियन्त्रणका लागि के–कस्ता पहल भइरहेका छन् ?
त्यसका लागि अहिले हामीले वाच लिस्ट प्रयोग गरिरहेका छौं । विभिन्न निकायसँग समन्वय गरेर प्रयोग गरेको वाच लिस्ट प्रभावकारी भइरहेको छ । जसमा यो–यो व्यक्ति यहाँ आउन सक्ने सम्भावना छ भनेर पहिला नै सूचित गरिएको हुन्छ । वाच लिस्ट भएकाको पहिले नै निगरानी राख्छौं । नेपाल प्रहरीले इन्टरपोलसँग पनि लिंक गरिरहेकाले त्यसबाट पनि हामीले सूचना संकलन गर्ने काम गर्छौंं । कतिपय सुरक्षा निकाय तथा सरोकारवाला निकायलाई पनि विशेष निगरानी गर्दिनुस् भनेर भन्ने गर्छौंं । आपराधिक खालका व्यक्तिलाई ब्याल्क लिस्टमा राख्ने काम पनि गर्छौंं । यसलाई व्यवस्थित र आधुनिकीकरण गर्न एपीस नाम गरेको प्रणाली जडान गर्नुपर्छ । यसले आउनु भन्दा अगाडि नै त्यो व्यक्तिको बारेमा विस्तृत जानकारी दिन्छ र थाहा पाइन्छ । त्यसपछि त्यसलाई थप कारबाही गर्न सहज हुन्छ । त्यस्ता व्यक्तिलाई प्रवेश निषेध गर्ने र नियन्त्रणमा लिएर कारबाही गर्न काम भइरहेको छ ।
कुनै बेला अन्तर्राष्ट्रिय अपराधी चाल्र्स शोभराजले नेपालको एपोर्टबाट हात्ती पनि छिराउन सकिन्छ भन्ने आरोप लगाएका थिए । के अहिले पनि त्यस्तो अवस्था छ ?
अहिले हामीले अपनाएको प्रविधि, स्ुरक्षाका विभिन्न रणनीतिहरु, आधुनिक प्रविधिको प्रयोग तथा उच्च समन्वयताका कारण त्यस्तो अवस्था छैन । अध्यागमनलाई पूर्ण प्रविधिमैत्री बनाइएकाले अहिले हिजोको जस्तो अवस्था छैन । अपराधीहरुलाई निकै कडा गरिएकाले अपराधीहरु भाग्ने र उम्कने अवस्था अहिले छैन ।
अध्यामगनका कर्मचारी कत्तिको नैतिक र इमानदार छन् ?
छुट्टै सेवा समूहका कर्मचारी अध्यागमनमा आउँदैनन् । नेपाल प्रशासन सेवाकै कर्मचारी खटाउने हो । छुट्टै सेवा समूह भएको भए त्यसैलाई मिल्ने सेवा समूह भएका कर्मचारी जाने गर्दथे । त्यहाँ पठाउँदा भाषामा राम्रो पकड भएका, कम विवादित, व्यवहार नम्र, शिष्ट भएका र सकेसम्म विस्वासिलो कर्मचारी खटाउने गरेका छौं । १ सय ५३ जना त्रिभुवन विमानस्थलमा कार्यरत छन् । बेल–बेलामा सचेत गराउने कार्य पनि हुन्छ । गुनासो आएको खण्डामा कारबाही गर्ने गरिएको छ । आन्तरिक रूपमा गरेका कामबाट उहाँहरु दोषी देखिएमा जिम्मेवारीबाट हटाउने तथा गल्ती अनुसारका कारबाही गर्ने गरेका छौं । इमानदारिता, नैतिकता भन्ने कुरा कानुनी कारबाहीसँग सम्बन्धित हुँदैन । त्यो व्यक्तिसँग पनि सम्वन्धित हुन्छ । व्यक्ति आफैं पनि इमानदार र जिम्मेवार बन्न सक्नुपर्छ ।
कर्मचारीको क्षमता, सीप विकासका लागि कस्ता कार्य भएका छन् ?
हामीले कर्मचारीलाई तालिम, क्षमता विकास र भाषा विकासका कार्यहरु गरिरहेका छौं । कर्मचारीलाई मुख्य कुरा प्रविधियुक्त बनाउने काम गरेका छौं । विशेष गरेर कानुन र भाषिक विषयमा दक्ष बनाउने कोशिस गरिरहेका छौं । अध्यागमनमा जाने कर्मचारीहरुलाई शुरुमा नै त्यस सम्बन्धी विशेष तालिम दिने गरेका छौं । अध्यागमन सँग जोडिएका ऐन, नियम, कानुन, निर्देशिका र असल अभ्यासका सम्बन्धमा पनि कर्मचारीलाई आवश्यक जानकारी दिने र सचेतीकरण गर्ने गरेका छौं । स्टाफ बैठकमा नियमित रूपमा नै नवीनतम अभ्यास र सुधार गर्नुपर्ने कुराहरुका बारेमा जानकारी दिने गरेका छौं ।
भिजिट भिसालाई कसरी व्यवस्थित बनाउन सकिएला ?
कानुनले निषेध गरेका देश र काममा जान अनुमति दिन सकिँदैन । त्योदेखि बाहेकका देशमा जान कानुनत निषेध गर्न सकिँदैन । विशेष गरी भिजिट भिसामा विदेश जाने त्यसपछि त्यसलाई अन्य वर्किङमा बदलेर वा नबदलेर काम गर्ने प्रवृत्ति देखिन्छ । तर, हामीले जुन काममा जाने हो सोही अनुसारको भिसा प्रयोग गर्नुस् भने बारम्बार नागरिकलाई सुचित गर्ने काम गरेका हुन्छौं । अहिले पनि भिजिट भिसामा जानेलाई ६ बुँदे मापदण्ड लागू गरेका छौं । त्यो पूरा नगरेकालाई भिजिट भिसामा जान दिँदैनौं । कहिलेकाहीं भिजिट भिसामा जाने र काम गर्ने गुनासो आइरहने भएको हुनाले बारम्बार ट्राभल एड्भाइजरी जारी गरेका हुन्छौं । त्यसमा नेपालकै एरपोर्ट प्रयोग गरेर जानु, सबै कुरा विचार पु¥याएर जानु भनेर भनेका हुन्छौं । कतिपय गन्तव्य मुलुकमा पनि दुःख पाउने र कतिपय गैर तरिकाले लाभ लिने भन्ने गुनासो आइरहेको भन्ने छ । त्यसलाई सुधार गर्न लागिरहेका छौं ।
अध्यागमनमा हुने सेटिङ र तस्करी रोक्न केही स्पेसल योजना छ कि ?
तस्करीको पाटो भनेको मानव तस्करीसँग जोडिने विषय हो भने यो हाम्रो कार्यक्षेत्र भित्र पर्छ । यसलाई रोकथाम गर्न नेपाल प्रहरी, नेपाल प्रहरीको मानव बेचविखन ब्युरो, वैदेशिक रोजगार विभाग र सरोकारवाला निकायसँग समन्वय गर्ने सूचना साझेदारी गर्ने गरेका छौं । र, आपराधिक कार्यमा संलग्न छन् भने त्यस्ता व्यक्तिलाई कालोसूचीमा राख्ने, कारबाहीका लागि सम्वन्धित निकायमा पत्राचार गर्ने जस्ता कामहरु गरिरहेका छौं, जुन हाम्रो नियमित काम भित्र पर्छ । मानव तस्करी बाहेक अन्य वस्तुसँग जोडिएको तस्करीको विषयमा सम्बन्धित निकायले आफ्नो तर्फबाट आवश्यक काम गर्छ ।
प्रतिक्रिया