काठमाडौं।
आगामी साता उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जा रुपान्तरणसम्बन्धी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले सो सम्मेलन आयोजना गरेको हो ।
संयुक्त राष्ट्रसंघले ‘पृथ्वी र पृथ्वीमा बसोबास गर्ने मानव तथा सम्पूर्ण प्राणीजगतको हित गर्ने स्वच्छ ऊर्जाको न्यायपूर्ण र समावेशी रूपान्तरणको लागि सचेतना जगाउने र सोही बमोजिमका क्रियाकलापहरू सञ्चालन गर्ने उद्देश्यले सन् २०२४ देखि हरेक वर्ष जनवरी २६ तारिखलाई ‘अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवस’ मनाउने गर्दछ । केन्द्रले यसपटक ऊर्जा क्षेत्रका साझेदार संस्थाहरूको सहयोगमा माघ १३, १४ र १५ गते उक्त सम्मेलन गर्न लागेको केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले जानकारी दिए ।
ढकालका अनुसार सम्मेलनका क्रममा नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित समस्या, चुनौति तथा अवसरका बारेमा सरोकारवालाहरूसँगको अन्तक्र्रिया हुनेछ । त्यस्तै नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता क्षेत्रको अवस्था, सरकारको प्राथमिकता तथा आवश्यकता सम्बन्धमा विकास साझेदारहरूलाई केन्द्रले जानकारी गराउने छ । साथै विकास साझेदारहरूको प्राथमिकता सम्बन्धमा पनि जानकारी लिएर आगामी दिनमा सहकार्य गर्ने बारेमा छलफल हुने ढकालले जानकारी दिए।
सम्मेलनको मुख्य सत्रअन्तर्गत नेपालमा उत्थानशील एवं न्यून कार्बनमा आधारित अर्थतन्त्रको विकासमा सघाउ पु¥याउने स्वच्छ ऊर्जा रूपान्तरणलाई तिव्रता दिनको लागि सरोकारवालाहरूबीच अनुभव आदान प्रदान, लगानीको अवसरबारे अन्तक्र्रिया एवं आवश्यक रणनीति तर्जुमाको लागि विभिन्न प्रस्तुतिहरू तथा छलफल हुने ढकालको भनाइ छ ।
सम्मेलनले नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनसँग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरकारी तथा गैरसरकारी निकाय, प्रदेश सरकार तथा स्थानीय तह, अनुसन्धानमुलक प्राज्ञिक संस्था, विकास साझेदार संस्था, लगानीकर्ता, यस क्षेत्रका अभ्यासकर्ता, निजी क्षेत्र एवम् क्षेत्रगत विज्ञहरूलाई एउटै स्थलमा उपस्थित गराउने कार्यकारी निर्देशक ढकालले बताए ।
सम्मेलनको प्रमुख उद्देश्यहरूमा क्षेत्रगत आवश्यकता, अवसर र चुनौतिहरुको पहिचान, लगानीयोग्य आयोजनाहरूको प्राथमिकीकरण तथा स्वच्छ ऊर्जा रूपान्तरणको लागि लगानीका सम्भावना तथा स्रोत परिचालनका अवसर, नेपालको ऊर्जा रूपान्तरण एवं जलवायु परिवर्तनसँग सम्बन्धित वर्तमान विकास साझेदारी एवं भविष्यको लगानी छनोटको सन्दर्भमा सो क्षेत्रमा भएका सफल आयोजना एवं थालनीका अभ्यासहरूको अनुभव आदान प्रदान, सम्भाव्य लगानीयोग्य आयोजनाहरू प्रस्तुत एवं लगानी अभिवृद्धिमा जोड रहेको छ ।
सम्मेलनबाट ऊर्जा रूपान्तरणको लागि क्षेत्रगत आवश्यकताको पहिचान, ऊर्जा रूपान्तरणको लागि लगानी आवश्यकता र जलवायु वित्तको लागि विभिन्न संयन्त्रहरूको पहिचान, लगानी अभिवृद्धि एवं विकास सहकार्य थप मजबुत हुने अपेक्षा रहेको कार्यकारी निर्देशक ढकालले जानकारी दिए । साथै सम्मेलनबाट हालै स्वीकृत ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ र “विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण सम्बन्धी कार्ययोजना, २०८०’ को प्रभावकारी कार्यान्वयनका लागि समेत सहयोग पुग्ने उनको भनाइ छ ।
कार्यक्रममा नवीकरणीय ऊर्जा, ऊर्जा दक्षता एवं जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका ३५० भन्दा बढीको सहभागिता रहने अनुमान गरिएको छ । त्यस्तै १० भन्दा बढी संस्थाहरूको सहयोग रहनेछ ।
केन्द्र स्थापना भएको २८ वर्षको अवधिमा यसअन्तर्गत लघु तथा साना जलविद्युत आयोजनाबाट, ४० हजार २५३ किलोवाट विद्युत् ११ हजार १०४ सुधारिएको पानीघट्ट जडान, ९ लाख ९६ हजार ६४७ घरेलु सौर्य विद्युत प्रणाली जडान भएको ढकालले जानकारी दिए । यसैगरी ४ हजार ३३२ संस्थागत सौर्य विद्युत प्रणाली, ३ हजार ९७ किलोवाट पिक सौर्य मिनि ग्रीड, सौर्य वायु मिनि ग्रीड जडान, १८ हजार २९३ किलोवाट पिक सौर्य रुफटप, २ हजार ४६४ सौर्य ड्रायर तथा कुकर जडान, ३ हजार ६९१ सौर्य खानेपानी तथा सिंचाइ पम्प, १ लाख ३२ हजार २११ फलामे सुधारिएको चुलो, ३३ वटा संस्थागत ग्यासिफायर, ५९ हजार ३८५ विद्युतीय चुलो, ४ लाख ५० हजार ७७० घरायसी बायोग्यास, १४ लाख २३ हजार २४२ सुधारिएको माटोको चुलो, ३६९ संस्थागत, शहरी तथा व्यावसायिक बायोग्यास, १ हजार ७६६ ऊर्जाको उत्पादनमूलक परिप्रयोग, ३३०९ सौर्य सडक वत्ती र ४ हजार ७५८ मठ, मन्दिर तथा होमस्टेमा सौर्य ऊर्जा जडान सम्पन्न भएका छन् । ढकालका अनुसार केन्द्रले हालसम्म करिब ३६ लाख ५० हजार घरधुरीमा स्वच्छ नवीकरणीय ऊर्जा प्रविधिको सेवा पु¥याएको छ । कूल विद्युत पहुँचमा नवीकरणीय ऊर्जा प्रविधिको हिस्सा करीब ६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया