सुनसरीमा आँपको उत्पादन घट्यो


सुनसरी ।

सुनसरीमा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा मूल्य बढेको छ। हुरी बतास र कीराले क्षति पुर्याएको कारण गत वर्षको तुलनामा यस वर्ष आँपको उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए।

उनले भने, ‘कीराको जोखिम र हुरी बतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो।’ आँपको उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ। गतवर्ष सुनसरीमा आँप खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री हुँदै आएको आँप यस वर्ष प्रतिकेजी रु ८० देखि १०० सम्ममा बिक्री हुने गरेको छ।

गत वर्ष प्रतिकिलो रु ५० भन्दा कममै आँप बिक्री भएको उनले बताए। केन्द्रका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय २४ हेक्टर क्षेत्रफलमा सात हजार एक सय ८६ मेट्रिक टन आँप उत्पादन भएको छ। गत वर्ष एक हजार एक सय २४ हेक्टरमा सात हजार पाँच सय ६५ मेट्रिक टन उत्पादन भएको थियो।

जिल्लाको इनरुवा, नसिङ, हरिनगरा, बक्लौरी, गौतमपुर, प्रकाशपुर, भोक्राहालगायत ठाउँ आँप ‘पकेट’ क्षेत्र हुन्। अहिले बजारमा माल्दा, आम्रपाली, कलकत्तिया, बम्बई, कृष्णभोगलगायत आँप बिक्री हुने गरेको छ।

जिल्लामा व्यावसायिक रूपमा किसानले आँपखेती नगरे पनि पछिल्लो समय आँप उत्पादन घट्दै गएको सूचना अधिकृत श्रेष्ठले बताए। आँपको एक वर्ष राम्रो फल लाग्ने र अर्को वर्ष फल कम लाग्ने भएकाले पनि उत्पादनमा कमी आएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।