काठमाडौँ।
काठमाडौंको भ्रमणमा रहेका सिचुवान प्रान्तका उपगभर्नर एवं सोही प्रान्तका सार्वजनिक सुरक्षा विभागका आयुक्त ये हान्बिङले गृहमन्त्री रवि लामिछानेसँग बुधवार शिष्टाचार भेट गरेका छन् ।
गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको मैत्रीपूर्ण निमन्त्रणामा उपगभर्नर ये पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै मंगलबार काठमाडौँ आएका हुन्। सिंहदरबारमा भएको शिष्टाचार भेटमा नेपाल र चीनबीच विपद् व्यवस्थापनसम्बन्धी सम्झौताको कार्यान्वयनका साथै नेपाली सुरक्षा निकायलाई चीनले दिँदै आएको सहयोग र सीमा नाका व्यवस्थापन सम्बन्धमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।
गृहले प्रेस विज्ञप्ति जारी गर्दै भेटमा दुई देशबीचको सदियौं पुरानो मैत्री सम्बन्धलाई अझै विस्तार गर्दै सुरक्षा, विपद व्यवस्थापन र पूर्वाधार निर्माणका विषयमा आपसी सहयोग आदानप्रदान गर्नेबारे सहमति भएको जनाएको छ । विज्ञप्तिमा गृहमन्त्री लामिछानेले भेटमा नेपालको पूर्वाधार विकासमा चिनियाँ कम्पनीहरुले पु¥याएको योगदानप्रति आभार व्यक्त गर्दै चीन जान चाहने नेपालीलाई प्रवेशाज्ञा निःशुल्क गरेको र व्यापारिक सीमा नाकाहरु खुलाएकोमा खुसी व्यक्त गरेको उल्लेख छ।
शिष्टाचार भेटपछि ये नेतृत्वको चिनियाँ प्रतिनिधि मण्डल र गृहसचिव अर्याल नेतृत्वको प्रतिनिधि मण्डलबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तामा सचिव अर्यालले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा नेपाल र चीनबीच भएको विपद जोखिम न्युनिकरण र आपतकालिन उद्धारसम्बन्धी समझदारीको कार्यान्वयनमा जोड दिएका थिए । उनले नेपाली सुरक्षा निकायहरुको आधुनिकीकरण र क्षमता अभिवृद्धिमा चीनको सहयोगलाई निरन्तरता दिन आग्रह समेत गरे ।
द्विपक्षीय वार्तामा उपगभर्नर येले अन्तर्राष्ट्रिय कानुनअनुसार सीमा क्षेत्र नियन्त्रण र व्यवस्थापन, अन्तरसीमा अपराधविरुद्धको लडाईका साथै नेपालमा चिनियाँ लगानी र सीमा क्षेत्रमा हुने वन्यजन्तुसम्बन्धी अपराध नियन्त्रणमा सहकार्य भइरहेको जिकिर गरे।
प्रतिक्रिया