सुनकोशी मैनापुरका २८ श्रेष्ठ घरपरिवारले लालपुर्जा पाए 

1.32k
Shares

सिन्धुली ।

 सिन्धुलीको सुनकोशी गाउँपालिका ३ मैनापुरका ७७ वर्षका अम्बर बहादुर श्रेष्ठले आइतबार जग्गा धनी पुर्जा अर्थात् लालपुर्जा पाए । पुस्तौ देखि गाउँब्लकमा बस्दै आएका  श्रेष्ठले भोकचलन गर्दै आएको जग्गाको लालपुर्जा पाए पछि हर्षित छन्  । ‘बाउबाजे देखि नै लालपुर्जा थिएन । गाउँब्लकको नापी भएको सात, आठ वर्ष भयो । आज बल्ल लालपुर्जा पाए । निक्कै खुसी छु’ उनले भने ।

उनी  जस्तै बर्षौ देखि गाउँब्लकमा बस्दै आएका  मैनापुरकै ज्ञान बहादुर श्रेष्ठको हातमा पनि जग्गाको लालपुर्जा परेपछि अनुहारमा हर्षको उमंग फैलियो । हामी त सुकुम्वासी वस्तीमा बस्याछौं जस्तो लाथ्यो । वि.स. २०७३ सालमा नापी भएपछि लालपुर्जा पाईन्छ की जस्तो लागेको थियो । आज पायौँ । जिवनको ठुलो उलब्धी हात परेको छ’ उनले भने । आइतबार नापी कार्यालय सिन्धुलीले सुनकोशी गाउँपालिका ३ मैनापुरमा बर्षौ देखि गाउँब्लकमा बस्दै आएका २८ श्रेष्ठ घरपरिवारलाई लालपुर्जा वितरण गरेको हो ।

 आफूले भोकचलन गर्दै आएको जग्गाको लालपुर्जा पाएपछि मैनापुरका सबै स्थानीय हर्षित भएका छन् । नापी कार्यलय सिन्धुलीले आयोजना गरेको कार्यक्रममा लालपुर्जा वितरण गर्दै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले लालपुर्जा पाउनेहरूको मुहारमा देखिएको खुसीले आफूलाई शान्ति मिलेको बताइन।

उनले गाउँपालिकाका भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबास गर्ने नागरिकहरुलाई पनि लालपुर्जा वितरण गर्ने काम थालनी भए पनि राष्ट्रिय भूमि आयोग विगठन भएपछि सबै काम रोकिएको बताइन्  । नयाँ भूमि आयोग गठन भएर काम सुरु गरेपछि अहिले रोकिएकै ठाउँबाट काम सुरु गरी लालपुर्जा वितरण हुने बताइन् । लालपुर्जा वितरण कार्यक्रममा बोल्दै सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कुमार कोइरालाले कृषि तथा पशु पालन लगायतको व्यवसायमा लालपुर्जाको सदुपयोग गर्न सुझाव दिए ।

 सुनकोशी गाउँपालिका ३ का वडाअध्यक्ष चन्द्र बहादुर श्रेष्ठले पुस्तौ देखि भोकचलन गरे पनि जग्गाधनी पुर्जा नहुदाँ सुकुम्वासी जस्तै महसुस गरेर बसेका मैनापुरका २८ घर परिवारले लालपुर्जा पाएपछि  ठूलो न्याय मिलेको बताए । प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले गाउ्रँपालिकाका सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई पनि व्यवस्थित बनाउँदै लैजाने बताए ।

नेपाली काग्रेस सुनकोशी गाउँपालिका समितिका कार्यवाहक सभापति रामचन्द्र आचार्य, एमाले सुनकोशी गाउँ कमिटीका अध्यक्ष रोमन राज गिरी र नेकपा (माओवादी केन्द्र) सिन्धुलीका जिल्ला कमिटी सदस्य युवराज पौडेलले गाउँपालिकाका अन्य सुकुम्बासीहरुलाई पनि लालपुर्जा दिलाएर न्यायको अनुभूति दिनुपर्ने बताए । वि.स. २०२८, २९ सालमा नापी हुँदा मैनापुर गाउँलाई गाउँब्लकमा राखिएको थियो । वि.स. २०७१ सालमा गाउँब्लकमा बसेकाहरुलाई लालपुर्जा दिने सरकारले कार्यक्रम ल्याएपछि आवश्यक सबै प्रक्रिया पुरा गरेर त्यसको झन्डै दश वर्ष पछि अहिले मैनापुरका स्थानियहरुलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय सिन्धुलीका प्रमुख सरोज बहादुर श्रेष्ठले बताए ।

Skip This