हेटौंडा अस्पतालमा आर्थिक अपचलनको आरोप

8.74k
Shares

हेटौंडा ।

हेटौंडा अस्पतालले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी परिषद्का पदाधिकारी र सदस्यसहित कृषि विकास बैंकको हेटौंडा शाखा प्रमुखलाई कारबाही माग गर्दै पत्र काटेको छ ।

वागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०८० फागुन ३० गते निप्रमेसुका रुपमा अस्पतालमा सरुवा भएका वरिष्ठ कन्सल्टेन्ट सर्जन डा. श्रीधर अर्यालले प्रदेश स्वास्थ्य मन्त्रालयको पत्रबमोजिम आर्थिक तथा प्रशासनिक अधिकार दिइ जिम्मेवारी तोकिए पनि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका करारका डाइरेक्टर डा. धीरेन्द्र गिरिले प्रतिष्ठानको कार्यकारी परिषद्बाट गैरकानुनीढंगले निर्णय गरी अख्तियारीबिना कृषि विकास बैंकका शाखा प्रमुखसँग साँठगाँठ गरी आर्थिक अपचलन गरेको आरोप लगाएर पत्र काटेका हुन् ।

प्रतिष्ठानका करारका लेखा अधिकृत सुरज बिष्टसँगको संयुक्त दस्तखत प्रयोग गरी गिरिले व्यवस्थापन समितिको कोष (सरकारी कोष) प्रयोग गरेर सरकारी खाताको आर्थिक अपचलन गरिरहेको पत्रमा आरोप छ । स्वास्थ्य मन्त्रालयको २०८० चैत ७ को पत्र तथा सोही मन्त्रालयको २०८१ जेठ १८ को पत्रबमोजिम ‘अस्पताल कार्यालय प्रमुख डा. अर्याल तथा आर्थिक प्रशासन प्रमुख राजेश थापाको संयुक्त दस्तखतबाट अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको खाता सञ्चालन गर्नू’ भनी निर्देशनात्मक पत्र प्राप्त भएको थियो ।

सोहीबमोजिम प्रशासनिक तथा आर्थिक क्रियाकलाप भइरहेकोमा जेठ २२ देखि व्यक्तिसरहको स्वायत्त संस्था मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका करारका डाइरेक्टर डा. गिरिले आफूलाई सरकारी संयन्त्रको अस्पतालको निर्देशक तथा कार्यालय प्रमुख हुँ, स्वास्थ्य मन्त्रालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई चिन्दिनँ भन्दै प्रतिष्ठानका करारका लेखा अधिकृत सुरज बिष्टसँगको संयुक्त दस्तखत प्रयोग गरी व्यवस्थापन समितिको कोष (सरकारी कोष) प्रयोग गरेर सरकारी खाताको आर्थिक अपचलन गरिरहेको आरोप छ ।

आफूखुशी म निर्देशक र कार्यालय प्रमुख हुँ भन्दै अस्पतालका कर्मचारीलाई जागिरको त्रास देखाउँदै धम्काइ प्रतिष्ठानको लेटरप्याड प्रयोग गरी निर्देशन दिने, स्पष्टीकरण माग्ने, जबर्जस्ती गैरकानुनीरुपमा हेटौंडा अस्पतालको चलानी किताब प्रयोग गर्ने, अस्पतालमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट अख्तियारीप्राप्त भइ खटिएका अस्पताल प्रमुखलाई समेत पत्र काटी स्पष्टीकरण सोध्ने जस्ता अराजक कार्य गरेकाले डा. गिरि र लेखा अधिकृत बिष्टलाई छानबिन गरी कारबाही माग गरिएको छ ।

एउटा स्वायत्त निकायबाट सरकारी कार्यालयको अराजक, अनैतिक, गैरकानुनी अतिक्रमण देखिएकाले कानुनी राज्य र सरकारी स्वास्थ्य प्रणालीलाई कायम राख्न अस्पतालका सम्पूर्ण कर्मचारीको बैठकले आवश्यक सहजीकरणका लागि मागहरु राखेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आइतबार लेखिएको पत्र डा. अर्यालले स्वास्थ्य मन्त्रालय वागमती प्रदेश, प्रमुख जिल्ला अधिकारी, कुलपति, सहकुलपति, अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौं, राष्ट्रिय सतर्कता केन्द्र काठमाडौं, उच्च सरकारी वकिल कार्यालय हेटांैडा, जिल्ला अदालत, प्रदेश लेखा नियन्त्रक कार्यालय, कृषि विकास बैंकको मुख्य कार्यालय काठमाडौं र चिकित्सक संघ नेपालमा पनि पठाएका छन् ।

पछिल्लो समय केही व्यक्तिको स्वार्थपूर्तिका लागि प्रदेशको राजधानीमा अवस्थित प्रदेशकै गौरव एवम् मकवानपुरलगायत बारा र पर्साका जनताको प्रमुख स्वास्थ्य गन्तव्य स्थान हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभिने र अस्पतालको बिगतमा रहेको अस्तित्व मेटाउने दुष्प्रयास गरिएको भन्दै दलहरुले विरोध जनाउँदै आएका छन् ।

अस्पताललाई प्रतिष्ठानसँग गाभ्न लागेको भन्दै सत्तारुढ दल नेकपा माओवादी केन्द्रसहित जिल्लामा क्रियाशील ८ दलले आपत्ति जनाएका छन् । मकवानपुरका ८ दलले संयुक्त विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले भौतिक पूर्वाधारबिना अस्पताललाई प्रतिष्ठानमा गाभ्न लागिएको भन्दै आपत्ति जनाएका हुन् ।

यसअघि सरकारले प्रतिष्ठानको आफ्नै भौतिक पूर्वाधार तयार गरी अस्पताललाई स्वतन्त्रढंगले सञ्चालन गर्न दिने सहमतिविरुद्ध गएर प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पताल प्रतिष्ठानमा गाभ्ने गरी प्रक्रिया अघि बढाएको भन्दै ८ दलले विरोध गरेका छन् । विज्ञप्तिमा राज्यको सम्पति, आफ्नै अस्तित्व र गरिमा रहेको र दैनिक २ हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व मास्ने गरी भइरहेको गतिविधि आफूहरुलाई मान्य नहुने उल्लेख छ