मधेश प्रदेशमा नयाँ सरकार गठनको गृहकार्य सुरु, सरकारको नेतृत्व जनमतले गर्ने 

2.73k
Shares

वीरगन्ज। 

 मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान भएको छ । बुधबार मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत प्राप्त गर्न नसके लगत्तै राति प्रदेश प्रमुख सुमित्रा भण्डारीले बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।

प्रदेश प्रमुखको आह्वानअनुसार अब जनमत पार्टीका नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । त्यसका लागि सत्ता गठबन्धनमा सहमति जुटिसकेको छ ।प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको धारा १६८ को उपधारा २ बमोजिम दलहरुले बहुमत जुटाएर शुक्रबार भोलि मध्यान्ह १२ बजेभित्र दाबी पेस गर्नुपर्नेछ । सत्ता गठबन्धनमा भएको परिवर्तन र जसपा नेपाल विभाजित बनेपछि मधेसमा नयाँ राजनीतिक समीकरण बनेको हो ।

सोही अनुसार जसपा नेपालको नेतृत्व मधेसबाट खोसिएको छ । सत्तामा मधेसमा जसपाले ६ वर्ष नेतृत्व गरेपनि अब भने विपक्षमा पुग्ने परिस्थिति बनेको छ ।यसैबीच  जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बिहीबार बसेको जनमत पार्टीको मधेस प्रदेश संसदीय दलको बैठकले उनलाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । पार्टीले सो निर्णय गरेको प्रदेश सांसद अनिता कुमारी साहले बताइन् ।

संसदीय दलको बैठकबाट सिंहलाई सर्वसम्मतिले मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय भएको उनले जानकारी दिइन् । यसअघि मुख्यमन्त्रीका लागि जनमत पार्टीका प्रदेश सांसद एवं संसदीय दलका नेता महेश यादवको चर्चा थियो । मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिँदासम्म महेश यादवको चर्चा थियो ।
सरोज यादवले विश्वासको मत लिँदा बहुमत नपाएपछि प्रदेशसभामा सबैले महेश यादवलाई नै अगामी मुख्यमन्त्रीका लागि बधाई दिएपनि  संसदीय दलको बैठकले शतिश सिंहको बारेमा निर्णय गरेको छ ।

जनमत पार्टीका उपाध्यक्ष दीपक साहले महेशको नाम बाहिर चर्चामा रहेपनि  पार्टीको आधिकारिक निर्णय भने अर्को नै आएको बताउनुभयो ।मधेशमा संविधानको धारा १६८ को उपधारा (१) अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछन् र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद्को गठन हुनेछ’ भनिएको छ । उपधारा (२) को १ बमोजिम प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछ । सतिश सिंहलाई सोही उपधारा अनुसार मुख्यमन्त्रीमा नियुक्त गरिनेछ । शुक्रबार साँझसम्म मधेश प्रदेशमा सत्ता गठबन्धनको सरकार निश्चित देखिएको छ ।