भारतद्वारा काठमाडौँमा उच्च प्रभाव सामुदायिक विकास परियोजना निर्माण



काठमाडौँ। 

‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत भारत सरकारको .३.२३६ करोड आर्थिक सहयोगमा निर्माण गरिएको काठमाडौंको डिल्लीबजारस्थित श्री पद्मकन्या माध्यमिक विद्यालयको मंगलादेवी सिंह मेमोरियल छात्रावास भवनको सोमबार  जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख श्री सन्तोष बुढाथोकी र भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उद्घाटन  गरेका छन्  ।

उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।

 कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति, काठमाडौंका प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुऱ्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।

  श्री पद्मकन्या माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि राम्रो आवासीय सुविधा तथा गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । साथै शिक्षाको विकासमा पनि योगदान पुऱ्याउनेछ ।

 भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, काठमाडौंमार्फत गरिएको थियो ।

 सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यी मध्ये काठमाडौं जिल्लाका ४१ वटा परियोजनासहित बागमती प्रदेशमा १०६ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये काठमाडौं जिल्लालाई प्रदान गरिएको ७० वटा एम्बुलेन्स र ५३ वटा स्कुल बससहित बागमती प्रदेशलाई २३६ वटा एम्बुलेन्स र ९८ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको दूतावासले जनाएको छ ।

 नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि र प्राथमिकताका क्षेत्र विशेष गरी नेपालको शैक्षिक क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्