चार जना प्रहरी नायव महानिरीक्षक दर्ज्यानी चिन्हद्वारा सुशोभित



काठमाडौँ। 

  निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।

 प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन्।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी रहेका छन् ।

साथै नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार  प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक भगवानप्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताए । पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।”

 प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको गौरव र गरिमालाई नयाँ आयाम र उचाईमा पुर्‍याउन पदीय हैसियतले निर्वाह गरेको भूमिका सदैव मूल्याङ्कन हुने भएकोले सकारात्मक उर्जा, मेहेनत लगन र ईमान्दारिताका साथ सांगठानिक विकासमा जुट्न र विशिष्टकृत ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिए । नेपाल प्रहरीबाट सम्पादित काम, प्रदर्शित व्यावसायिकता र निर्वाह गरेको भूमिकाप्रति समाज र नगारिकले चासो र महत्वकोसाथ हेर्ने गरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भने, “प्रहरी संगठनलाई जनमुखी, पारदर्शी र निर्विकल्प अंगको रूपमा स्थापित गराउन हामी सबैको साझा चिन्तन, क्रियाशीलता र पदीय दायित्व अनुरूपको जिम्मेवारी वहन पनि त्यतिकै आवश्यक रहेको छ ।”

प्रहरी महानिरीक्षक कुँवरले संगठनको वृहत्तर हितको कुरा गर्दा पद वा व्यक्ति गौण हुने र संगठनले दिएको जिम्मेवारी प्रमुख हुन आउने चर्चा गर्दै इमान्दारीपूर्वक संगठनको हितमा समर्पित रहनु लक्ष्य प्राप्तिको आधार हो भन्ने कुरामा जोड दिए । संगठनका कुनै सदस्यहरूबाट प्रदर्शित गैरव्यावसायिकताका कारण सिंगो नेपाल प्रहरी संगठन लज्जित हुनुपर्ने अवस्था देखा परेमा कुनै हालतमा सहनयोग्य नहुने विचार उनले व्यक्त गरे ।

समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोखरेलले राज्य र संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा गम्भीर भएर पूरा गर्ने बताए । प्रचलित ऐन, कानुन, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको उद्देश्य प्राप्ति र श्रीवृद्धिमा समर्पित भई त्रुटीरहित तरिकाले काम गर्ने प्रतिवद्धता उनले व्यक्त गने ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्