गलत सूचना दिएका निर्मल पुर्जामाथि छानबिन गर्दैछौं : विभाग



काठमाडौँ ।

 पर्यटन विभागले आरोही निर्मल पुर्जाले सगरमाथा आरोहणका लागि टाँगिएको डोरी काटिएको भन्ने गलत जानकारी दिएको भन्दै खण्डन गरेको छ ।

पर्यटन विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै पुर्जाले सामाजिक सञ्जालमार्फत गलत जानकारी दिएको भन्दै अहिले सगरमाथा आरोहणका लागि टाँगिएका सबै डोरीमा कुनै समस्या नरहेको दाबी गरिएको छ ।

पुर्जाले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै आफ्नो टोली आरोहण गर्न गइरहेको अवस्थामा डोरी काटिएको बताएका थिए । उनले आरोहण क्षेत्रमा राजनीति भएको र अब आफू चुप नबस्ने समेत बताएका थिए ।

विभागले आज समेत सगरमाथाको सफल आरोहण भएको र पुर्जाले भने जस्तो कुनै डोरी नकाटिएको बताएको छ । विभागले आरोहणमा कुनै समस्या नरहेकोले ढुक्कसँग आरोहण गर्न समेत आग्रह गरेको छ ।

साथै विभागले जारी गर्ने सूचना, फिल्ड कार्यालय र सम्पर्क अधिकृतबाट सम्प्रेषण हुने सूचना बाहेक भ्रामक सूचना प्रवाह गर्ने समग्र पर्वतीय पर्यटन एवं राष्ट्रको इज्जतमा धक्का पुग्न सक्ने अफवाहमा नलाग्न अपिल गरेको छ ।

साथै विभागले सधैँ चर्चित हुने गरी अनधिकृत सूचना सम्प्रेषण गर्ने काममा संलग्न पुर्जा र अन्य व्यक्तिहरुमाथि छानबिन प्रक्रियासमेत अगाडी बढाएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्