सिद्धार्थ वनस्थलीमा अब एआई कक्षा

अभिभावक- विद्यार्थीसँग डिजिटल लिटरेसीका बारेमा वृहत् छलफल 



काठमाडौँ। 

सिद्धार्थ बनस्थली इन्स्टिच्युटले आफ्ना अभिभावकहरूसँग ‘डिजिटल लिटरेसी’का बारेमा वृहत् छलफल र अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयले कक्षा ८, ९ र १० का विद्यार्थीहरुलाई डिजिटल कक्षाहरु समेत सञ्चालन गर्दैछ । विशेष गरी  विद्यार्थीहरुलाई एआई(आर्टिफिसियल इन्टेलिजेन्स) , रोबोटिक्स लगायतका डिजिटल शिक्षा दिएर वर्तमान प्रविधिको युगमा सक्षम र योग्य बनाउने लक्ष्य इन्स्टिच्युटले राखेको छ । सोही लक्ष्य अनुसार सिद्धार्थ वनस्थलीले सोमबार अभिभावक तथा विद्यार्थीहरुसँग  डिजिटल लिटरेसीका बारेमा वृहत् छलफल गरेको हो ।

 सो अवसरमा इन्स्टिच्युटले प्रविधि तथा आइटी क्षेत्रका प्रख्यात विज्ञ(मोटिभेटर) अनिल चित्रकार मार्फत अभिभावक तथा विद्यार्थीहरुलाई आइटी शिक्षाको महत्त्व, आवश्यकता र औचित्यका बारेमा प्रशिक्षण दिएको थियो । विज्ञ चित्रकारले प्रविधियुक्त ज्ञानले विद्यार्थीहरुलाई थप सक्षम र योग्य बनाउने बताए । उनले वर्तमान विश्व प्रतिस्पर्धी विश्वको रुपमा रुपान्तरण भएको र सो प्रतिस्पर्धामा अब्बल बन्न र अरु भन्दा अघि बढ्न आइटीमा  निपुण हुनुपर्ने आवश्यकता औँल्याए ।

हामीकहाँ  पनि परिवर्तन सम्भव भएको र त्यसको लागि प्रविधि र आइटीलाई नै मुख्य माध्यम बनाउनुपर्नेमा चित्रकारले जोड दिए । उनले डिजिटल रिभुलेशनको बारेमा प्रकाश पार्दै विद्यालय परिवार र अभिभावकहरूले अबका दिनमा आफ्ना विद्यार्थी तथा छोराछोरीहरुलाई आइटीमा अभ्यस्त राख्नुपर्ने बताए । ‘अब हाम्रा विद्यार्थीहरुलाई अरुभन्दा अब्बल र अगाडी जान सक्ने  बनाउनुपर्छ त्यसका लागि उनीहरुलाई प्रविधि र आइटीमा निपूर्ण  बनाउनुपर्छ , चुनौती भएपनि त्यसलाई पन्छाउँदै अघि बढ्नुपर्छ । ’आइटी विज्ञ चित्रकारले भने ।

 सो कार्यक्रममा बोल्दै सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका प्रिन्सिपल रुपक राजवंशीले  विद्यार्थीहरुलाई आइटीमा अब्बल बनाउनकै लागि एआई लगायतका कक्षाहरु सञ्चालन गर्न लागिएको जानकारी दिए । प्रिन्सिपल राजवंशीले  चुनौती भएपनि आफूहरुको  लक्ष्य विद्यार्थीहरुलाई आइटीमा योग्य र दक्ष बनाउनु नै रहेको स्पष्ट पार्दै यस कार्यको लागि अभिभावकहरूबाट पूर्ण सहयोगको अपेक्षा गरिएको बताए ।

 कार्यक्रममा विद्यालयकी भाइस प्रिन्सिपल सुनिता सिंहले ८,९ र १० का विद्यार्थीहरुलाई आइटीमा पोख्त बनाउन एआई लगायतका कक्षाहरु दिने निर्णय भएको र त्यसले विद्यार्थीहरुलाई प्रतिस्पर्धा गर्न ठुलो मद्दत पुग्ने बताइन् ,। यस्तै एआई कक्षाकी कोअर्डिनेटर अर्चना कार्कीले आइटी शिक्षाको आवश्यकता र महत्वका बारेमा प्रकाश पार्दै आधुनिक विश्वमा प्रतिस्पर्धा गर्न विद्यार्थीहरुलाई आइटी अनिवार्य भएकाले यसमा अभिभावकहरू पनि संवेदनशील बन्नुपर्ने आवश्यकता औँल्याइन्  ।

सो कार्यक्रममा विद्यालयका अभिभावकहरुको उत्सावद्र्धक सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयले आइटी अन्तर्गत एआई लगायतका कक्षाहरु सञ्चालन गर्न लागेकोमा धन्यवाद दिदै यसलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याएका थिए । अभिभावकहरूले विद्यार्थीहरुका लागि ल्याइने यस प्रकारका सिर्जनात्मक कार्यक्रमलाई सफल बनाउन आफूहरूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्