गोरखाको साम्दोमा बीओपी स्थापना



काठमाडौँ। 

 सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ गोरखाको साम्दोमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।  चुमनुब्री गाउँपालिका–१ स्थित साम्दोमा आइतबार बोर्डर आउट पोष्ट (बीओपी)को स्थापना गरिएको हो।

यससँगै चीनतर्फ बिओपीको संख्या १० पुगेको छ । सशस्त्र प्रहरी बल नेपाल नंं. २९ गुल्म गोरखाको मातहत रहने गरी स्थापना भएको बिओपी सदरमुकाम गोरखा बजारबाट करिब १ सय ६४ किलोमिटर उत्तरतर्फ रहेको छ ।

नेपाल र चीन सीमा इलाकामा स्थापना गरिएको बिओपीले विपद्जन्य घटनाहरु जस्तै हिमपात, हिमपहिरोमा परेका नागरिकहरुको उद्धार, अवैध चोरीनिकासी पैठारी नियन्त्रण, सीमावर्ती क्षेत्रमा हुने अपराधिक तथा अवाञ्छित क्रियाकलाप न्यूनीकरण, नियमित सीमा स्तम्भ तथा सीमा ईलाकाको निगरानी लगायत कार्यहरु गर्नेछ । समुन्द्री सतहतबाट करिब ३ हजार ८ सय ७५ मिटरको उचाइ स्थापना भएको बिओपीबाट करिब १५ किलोमिटर नजिक चीनसँगको सीमानामा रुईला नाका रहेको छ ।

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ दार्चुलाको तिंकर, हुम्लाको हिल्सा, मुस्ताङको नेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ९ ठाउँमा बिओपी स्थापना गरिसकेको छ । हाल भारतको सिमानातर्फ २ सय ४४ र चीनको सिमानातर्फ १० गरी बिओपीको संख्या २ सय ५४ वटा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्