महानगर र वडामा कलाकार समिति बनाउन पहल गर्दै ललितपुर १६ वडा



ललितपुर।

ललितपुर महानगरपालिका– १६ वडा अन्तर्गत कलाकार समितिले महानगर र वडास्तरीय कलाकार समिति बनाउन पहलकदमी लिने भएको छ ।
नेपालभाषाको गीत, संगीत र कलाकारको विकासलाई स्थानीय तहले नीतिगत रुपमा सम्बोधन गर्नुपर्ने नीष्कर्ष सहित समितिले सो पहलकदमी लिने योजना सार्वजनिक गरिएको हो।समितिले शनिबार नख्खिपोटमा आयोजना गरेको कला विकासमा स्थानीय तहको भूमिका विषक अन्तरक्रिया आयोजना गरेको थियो।
सो कार्यक्रममा संयोजक सुरजवीर बज्राचार्यले १६ वडा कलाकार समितिले गर्दै आएको कार्य र त्यसको अनुभवको आधारमा महानगरपालिकासहित २९ वटै कलाकार समिति बनाउन पहलकदमी लिने योजना रहेको बताए।

समितिले अनलाईनबाट गीत र नृत्यप्रतियोगिता, प्रत्येक वर्ष येंया पून्हि साँझ, श्रीपञ्चमीको अवसरमा शास्त्रीय संगीत साँझ, कलाकारहरुको प्रशिक्षणको लागि कला पाठशाला लगायत कार्यक्रम गरिसकेको कार्यक्रममा जानकारी गराइयो।‘ती कार्यक्रम सम्पन्न गरेको अनुभवको आधारमा कलाकारको विकासको लागि महानगर र प्रत्येक वडामा कलाकार समिति बनाउन संयोजनको भूमिका निर्वाह गर्ने छौं।’ संयोजक बज्राचार्यले भने ‘ शुरुमा स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई कलाकार समिति बनाउन औपचारिक रुपमा अनुरोध गर्ने छौं।आवश्यकता अनुसार कलाकारहरु एकजुट भएर ज्ञापनपत्र बुझाउने छौं ।’

समितिको आग्रह अनुसार अरु वडा कलाकार समिति बनाएमा त्यसको व्यवस्थापन, सञ्चालन, योजना निर्माण विषयमा सहजीकरण गर्न तयार रहेको पनि संयोजक बज्रँचार्यको भनाई रहेको छ।कला क्षेत्र र कलाकारको वृति विकास, रोजगारीको अवसर हुनेगरी दीर्घकालीन कार्यक्रमहरुलागि बजेट विनियोजित गर्न महानगरपालिकालाई ध्यानाकर्षण गराउने पनि समितिले जनाएको छ। समितिले अघि सारेका कार्यक्रमहरु गर्नका लागि एउटा संयोजन समिति पनि गठन गरिएको छ।

चार वर्ष अघि गठन गरिएको सो समितिको कार्यका लागि वडाले वार्षिक करिब २५ लाख बजेट विनियोजित गर्दै आएको वडाअध्यक्ष निर्मलरत्न शाक्यले बताए। ‘ बाटो बनाउने, ढल बनाउने कार्य मात्र नभई गीत, संगीत र कलाको उत्थान पनि विकासको एउटा आयाम हुन्।यही अनुरुप वडाले नेपालभाषा, गीत, संगीतको कार्यलाई प्राथमिकतामा राखेर काम गर्दै आएका छौं ।’ वडाअध्यक्ष शाक्यले भने।

सो अवसरमा इलोंह प्रकाशनका अध्यक्ष नरेशवीर शाक्यले नेपाल भाषा, गीत,संगीतको विकासको लागि वडाले गर्दै आएको कार्यको सराहना गर्दै महानगरपालिकाले ऐन र कार्यविधि बनाई कलाकार समितिको स्थायित्व, संरचनालाई औपचारिक मान्यता प्रदान गर्नुपर्ने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्